arrow

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
Parliament_building.png

काठमाडौँ ।  सङ्घीय संसद अन्तर्गत आज दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै छ ।  प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरु हुनेछ । 

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् । 

साथै राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ । 

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

अन्तिममा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व. २०८१-०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।  विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९-८० सभा समक्ष पेस गर्नेछन् । 

साथै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नेछिन् ।

 उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व. २०८१-८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ