arrow

नेपालका क्यासिनो र मिनी क्यासिनोमा नियामक निकायकै मिलेमतोमा अवैध धन्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
sangrila-casino.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालका पाँचतारे होटल सञ्चालित क्यासिनो र काठमाडौँ बाहिर रहेका मिनी क्यासिनोमा नियामक निकायकै मिलेमतोसहित देशभर अवैध धन्दा फस्टाएको छ । 

नक्कली परिचयपत्र बनाएर नेपालीलाई नै प्रवेश दिने र अर्काेतर्फ सम्पत्ति शुद्धीकरणदेखि विभिन्न अपराधिक गतिविधि क्यासिनोमा हुने तथा डलर सटहीमा समेत नेपाल राष्ट्र बैकलाई छल्ने गरेका छन् । यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयदेखि प्रहरी र प्रशासनकोसमेत संरक्षण रहेको उच्च स्रोतले जनाएको छ ।

नेपालमा दुई किसिमका क्यासिनो छन् । पहिलो पाँचतारे होटलमा सञ्चालित ठूला क्यासिनो– जहाँ लाइभ जुवा नै चल्छ । दोस्रो उपत्यका बाहिरका मिनी क्यासिनो– जहाँ मेसिनबाट मात्र जुवा खेल्न पाइन्छ । दुवै किमिसका क्यासिनो आपराधिक अखडा बनेको र त्यहाँ प्रहरी प्रशासनदेखि सरकारी नियामक निकायका अधिकारीहरुको समेत मिलेमतो रहेको उच्च स्रोतले जनाएको छ ।

स्रोत भन्छ, ‘प्रहरी प्रशासनसँग नमिली नेपालमा एउटा पनि क्यासिनो सञ्चालन हुनै सक्दैन । क्यासिनोभित्र हुने गरेका आपराधिक क्रियाकलाप प्रहरीकै आडमा सामसुम पारिन्छ । प्रहरीले इलिगललाई लिगल बनाइदिन्छ ।’

खासगरी काठमाडौँमा रहेका क्यासिनोले डलर सटहीको अनुमति नै लिएका छैनन् । उनीहरुले राष्ट्र बंैकबाट डलर सटही अनुमति लिनुपर्नेमा त्यो अनुमति नलिई जुवा खेलाउने गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंकको उच्च स्रोत भन्छ, ‘अनुमति नलिने सबैजसो नै छन् भन्दा हुन्छ । एक पटक अनुमति लिएका पनि कसैले रिन्यू गरेका छैनन् ।’

नक्सालमा रहेको होटल मेरियटमा सञ्चालित क्यासिनोले समेत डलर सटहीको अनुमति नलिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

त्यतिमात्र होइन क्यासिनो सञ्चालकहरुले विदेशीका नाममा नेपालीहरुलाई नै प्रवेश दिएर कालो धनलाई सेतो बनाउने धन्दा पनि सञ्चालन गरेका छन् । 

‘भारतीय नागरिकको नाममा कार्ड बनाउने र नेपालीलाई प्रवेश दिने गरेका छन्’, स्रोतले भन्यो । 

तराईका जिल्लामा खुलेका मिनी क्यासिनोहरुमा आपराधिक गतिविधि बढेको छ । क्यासिनो नियमावलीअनुसार मिनी क्यासिनोले मेसिनबाट मात्र खेल खेलाउन पाउँछन् । 

स्थानीय प्रहरी–प्रशासनमा सेटिङ मिलाएर त्यहाँ पनि ठूला क्यासिनोमा जस्तै जुवा खेलाउने गरिएको छ । झापा, मोरङ, पर्सा, रुपन्देही, नेपालगञ्ज, कैलालीलगायत जिल्लामा मिनी क्यासिनो सञ्चालन भइरहेका छन् । 

भारतीय ग्राहकलाई लक्षित गरी यस्ता मिनी क्यासिनो सञ्चालन भए पनि त्यहाँ नेपाली जुवाडेहरुको समेत भीड लाग्ने गरेको छ । धेरैजसो मिनी क्यासिनो किशोर सिलवाल र सुरेन्द्र सिंहले चलाउँदै आएका छन् ।

विभिन्न किमिसका तस्करीदेखि जुवामा संलग्न रहँदै आएका तत्कालीन  एसपी श्यामकृष्ण अधिकारी, तत्कालीन बाँकेका डीएसपी मधुसुदन न्यौपाने लगायतले महिनाबारी लिने गरेकोमा अहिले त्यहाँ रहेका एसपी सुवास बोहोराले माथिसम्म लाइन मिलाउन पर्ने भन्दै निर्वाध रुपमा क्यासिनोलाई ‘मालअड्डा’ को रुपमा संरक्षण गरिरहेको स्रोतको दाबी छ । 

नेपालगञ्जका अन्य क्यासिनोमा पनि अवैध धन्दा चल्ने गरेको छ । नेपालगञ्जमा मात्र सात ओटा क्यासिनो सञ्चालित छन् । होटल सोल्टीमा माजोंग, होटल स्नेहामा बेलिज इन्टरनेशनल, होटल ड्रिम ल्याण्डमा ह्याप्पी आवर, होटल सिद्धार्थ भ्युमा ज्याकपट ग्याम्बलिङ सेन्टर, सिटी होटलमा सिटी ग्याम्बलिङ जोन, स्टार लाइट होटलमा लक्की स्टार क्यासिनो, होटल कल्पत्रुमा एसएन बिल्यु ग्यामलिङ सेन्टर छन् । यीमध्यै सबैजसो मापदण्डविपरीत सञ्चालित छन् ।

माजोंग क्यासिनोको सञ्चालकमा विनोद श्रेष्ठ, बेलिजको बिक्की, ह्याप्पी आवरको सुरेन्द्रबहादुर सिंह, ज्याकपटको राजिव आचार्य, सिटी ग्याम्लिङमा सुदीप क्षेत्री, लक्की स्टारमा मनोज सुवेदी र एसएन बिल्युमा गगन सिंह थापा सञ्चालक रहेका छन् । 

उनीहरू सबैले क्यासिनोबाट अकुत आर्जन गरिरहेका छन् । उनीहरुमध्ये केहीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको भए पनि विभागले पनि यसलाई कमाउ भाँडोको रुपमा लिएको स्रोतको दाबी छ । मिनि क्यासिनो सञ्चालन गर्न पनि पाँचतारे होटल चाहिनेमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जथाभावी क्यासिनोको अनुमति दिएका थिए । 

अहिलेका पर्यटन मन्त्री सुदन किरातीले ती क्यासिनोलाई नछुन निर्देशन नै दिएको स्रोतको दाबी छ । क्यासिनो सञ्चालन निर्देशिका तथा नियमावली अनुसार क्यासिनो सञ्चालनका लागि अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर टाढा हुनुपर्ने, क्यासिनो सञ्चालनका लागि पर्यटकीय क्षेत्र घोषणा हुनुपर्ने, कम्तीमा २५ करोड चुक्ता पूँजी चाहिने, धार्मिक तथा सांस्कृतिक रुपमा संवेदनशील मानिएको क्षेत्र बाहिर हुनुपर्ने प्रावधान छ । यद्यपि यो प्रावधान लागू हुनै सकेको छैन । यसमा वर्तमान सरकार पनि पछि हटेको बुझिन्छ ।

नेपालमा यी क्यासिनोहरुले यो मापदण्ड मानेका छैनन् । स्नेहा होटल र ड्रिमल्याण्ड होटलमा सञ्चालित क्यासिनो भारतको सीमाबाट पाँच किलोमिटर भन्दा नजिकको दूरीमा रहेको छ । 

ह्याप्पी आवरले शुरुमा स्नेहा होटलमा क्यासिनो सञ्चालनको अनुमति पाएकोमा पछि ड्रिमल्याण्डमा पनि त्यही नाममा सञ्चालन गरिएको छ । सो क्यासिनोले सरकारलाई करोडौँ रोयल्टी पनि तिरेको छैन ।

नेपालगञ्ज क्षेत्रमा भारतीय नागरिकहरु धेरै आउने गर्दछन् । क्यासिनोले नै उनीहरुलाई जमुनाहा नाका पुगेरै ल्याउने गर्दछन् । 

कतिपयले भारतमै पुगेरसमेत ओसार्ने गरेका छन् । यस्तो कार्यमा युवतीको प्रयोग हुने गरेको पाइएको छ । जसकारण क्यासिनोका गाडीमा सीमा क्षेत्रमा सुरक्षा निकायले चेकिङसमेत गर्दैनन् । 

ग्राहक ल्याउन युवती प्रयोग गरिने र क्यासिनोभित्रै पनि अवैध धन्दा चल्ने गरेको प्रहरी स्रोत बताउँछ । क्यासिनोहरुले अवैध रुपमा भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्दा पनि प्रशासन मुकदर्शक बन्ने गरेको छ । 

एकातर्फ मापदण्ड विपरीत क्यासिनो सञ्चालन हुने र अर्काेतर्फ नेपालीहरुलाई खुलेआम प्रवेश दिने गरिएको छ । 

सुरेन्द्र सिंहको नेपालगञ्जसहित महेन्द्रनगर, भैरहवा, काँकडभिट्टामा क्यासिनो छन् । ती क्यासिनोले रोयल्टी तिरेका छैनन् । 

बन्द गराउने निर्णय भएपछि उनले अदालतको आडमा क्यासिनो चलाइरहेका छन् । त्यस्तै किशोर सिलवालले रक इन्टरनेशनलको नाममा काँकडभिट्टा र धनगढीमा रोयल्टी नतिरी क्यासिनो चलाइरहेका छन् । 

ठूलो किसिमको क्यासिनो सञ्चालन गर्नका लागि पाँच तारे होटल हुनुपर्छ । त्यही मापदण्डका आधारमा काठमाडौँका ठूला होटलमा क्यासिनो खुलेका छन् ।

संघीय राजधानी काठमाडौँको दरबारमार्गस्थित होटल अन्नपूर्णमा पनि क्यासिनो प्यालेस सञ्चालित छन् । तर दुई वर्षदेखि अन्नपूर्ण होटल भने बन्द छ । 

होटल बन्द भएको अवस्थामा क्यासिनो पनि बन्द हुनुपर्नेमा अवैध रुपमा क्यासिनो भने सञ्चालन भइरहेको छ । 

पर्यटन विभाग तथा प्रहरी प्रशासनसँग सेटिङ मिलाएर सो क्यासिनो सञ्चालन भएको हो । काठमाडौँका ठूलो क्यासिनोमा पनि नक्कली परिचयपत्रका आधारमा नेपाली जुवाडे छिराउने गरिएको छ । क्यासिनोका एक कर्मचारी भन्छन्, ‘खै हामीले त नक्कली सक्कली जान्दैनौँ नेपालीहरु छिर्न रोकिएकै छैन ।’

प्रहरी महानीरिक्षक वसन्तबहादुर कँुवरलाई समेत गुमराहमा राखेर क्यासिनोलाई स्थानीय प्रहरीले संरक्षण दिइरहेका छन् ।

राजधानीमै सञ्चालिक क्यासिनोले राज्यलाई कर बुझाउन आनाकानी गरी प्रहरी र स्थानीय प्रशासनलाई प्रभाव पारिरहेको स्रोतले जनाएको छ । 

होटल म्यारियटमा रहेको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलको क्यासिनो र्याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोले कर बुझाउन आनाकानी गरिरहेका छन् ।

कर्मचारीको बेहाल
अहिले यसै पनि नेपालमा बेरोजगार छ । पहिले राम्रो कमाइ गर्दै आइरहेका कर्मचारीहरुलाई क्यासिनो सञ्चालकहरुले तलब नदिएर हैरान पारेका छन् । 

पीडित कर्मचारीहरुका अनुसार अधिकांश क्यासिनो सञ्चालकले समयमा तलब नै दिएका छन् । कतिपय क्यासिनोले त दुई वर्षको तलबसमेत नदिएर हैरान पारेका छन् । 

एक पीडित कर्मचारीले भने, ‘जानेको सीप यही हो । यो छोडेर अन्त जान सकिएन । साहुले तलब नदिएर मर्नु न बाँच्नु पारेका छन् । मेरो मात्र हैन धेरै साथीहरुको पीडा उस्तै छ ।’

नेपालमा गनेर नसकिने मजदूर युनियनहरु छन् । तर यो मामलामा उनीहरुले खुलेर विरोध गरेको पाइएको छैन । ती पीडितले भने, ‘साहुले मन्त्री, पुलिस, गुन्डा, मजदूर युनियनका नेता सबैलाई किनेको छ । हाम्रो पीडा सुनिँदैन । तपाईलाई पीडा के पोख्नु र कतपय त साहु नै गुन्डा छन् ।’

यो समस्या सबैजसो क्यासिनोका कर्मचारीको भएको पीडितहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ