नेपालको हरित हाइड्रोजन अभियानमा ग्रिनजो इनर्जी इण्डियाको चासो
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
1.5k
Shares
काठमाडौँ। नेपालमा हरित हाइड्रोजन उत्पादन र प्रयोगका लागि नीतिगत निर्णय हुनुपर्ने बहस २०७८ सालअघिबाटै सुरु भएको थियो। बल्ल नेपाल सरकारले हरित हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाउने गरी नीति पारित गरेको छ। अहिले यो नीति मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको छ। सरकारले लगानी सम्मेलनको तयारी गरी रहँदा हरित हाइड्रोजनका लागि पनि लगानी जुटाउने अर्थ मन्त्रालयले प्रयास थालेको छ।
हालै भारतको गुजरातमा भएको गुजरात भाइव्रेन्टमा अर्थमन्त्री प्रकाश शरण महतले ग्रिनजो इनर्जी इण्डिया लिमिटेडका संस्थापक तथा प्रबन्ध निर्देशक सन्दीप अग्रवालसँग छलफल गरेका थिए। त्यस क्रममा अग्रवालले नेपालमा पनि ग्रिन (हरित) हाइड्रोजनका लागि लगानी गर्न इच्छुक रहेको बताए। हालै मात्र नेपाल सरकारले ग्रिन हाइड्रोजन सम्बन्धी नीति पारित गरेपछि ग्रिनजो इनर्जी इण्डिया लिमिटेडले स्वागत गर्दै नेपालको हरित अभियानमा साथ दिने जनाएको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय लगतै ग्रिनजो इनर्जी लिमिटेडले स्वागत गर्दै नेपालको हरित अभियानको प्रशंसा गरेको छ। प्रबन्ध निर्देशक अग्रवालले ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री प्रकाश शरण महत, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रिपरिषद् सदस्यलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री प्रचण्डको भूमिकाको प्रशंसा गर्दै सहकार्यका लागि आफू इच्छुक रहेको ग्रिनजोका प्रबन्ध निर्देशक अग्रवालले उल्लेख गरेका छन्।
उर्जामन्त्री बस्नेतले राष्ट्रलाई दिगो हरित ऊर्जातर्फ लैजान गरेको प्रतिबद्धता, अर्थमन्त्री महतको मुलुकको आर्थिक उद्देश्यलाई वातावरणसँग मिलाउने रणनीतिक दृष्टिकोण प्रशंसनीय रहेको उल्लेख गर्दै अग्रवालले हरित अर्थतन्त्रलाई बढवा दिने समर्पण प्रतिविम्बित गरेको बताएका छन्।
यो प्रयासले नेपालको अर्थतन्त्रलाई अर्को उचाइमा पुर्याउने विश्वास लिइएको छ। यो प्रशंसनीय कामका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले कोशेढुंगा स्थापित गरेको ग्रिनजोले उल्लेख गरेको छ। यसमा नेपाल सरकारको उत्साहलाई कायम राख्न आर्थिक लगानी र सहकार्यका लागि ग्रिनजो इण्डिया लिमिटेड साथ–साथै रहेको यसका प्रबन्ध निर्देशक अग्रवालले बताएका छन्।
भारतमा इलेक्ट्रोलाइजर निर्माता ग्रिनजो इनर्जी नेपालमा अत्याधुनिक हाइड्रोजन उत्पादनका लागि सहकार्यको हात अघि बढाउन तयार रहेको जनाएको छ। यो कम्पनीसँग रहेका योग्य टोली सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, साइट सर्वेक्षणका लागि सदैव तयार रहेको पनि उसले जनाएको छ।
ग्रिनजो इनर्जी यो अभियानमा जोडिन मात्र चाहेको छैन, प्रयास समेत गरिसकेको छ। यसअघि नै ५० मेगावाट ग्रिन हाइड्रोजन उत्पादनका लागि ग्रिनजो र नेपालको एक प्रतिष्ठित सार्वजनिक कम्पनीसँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भइसकेको छ। त्यसमा हाइड्रोजन, अमोनिया प्लान्ट, सौर्य, हावा र जलविद्युत एकीकृत रूपमा अघि बढाइने समझदारी छ। नेपाल सरकारले नीति तय नगर्दा यो कार्यान्वयनमा ढिलाइ भएको थियो। अब यसले पनि द्रुत गति लिने विश्वास गरिएको छ। अब ग्रिनजो इण्डिया नेपालको हरित अभियानमा जोडिन चाहेको छ।
ग्रीनजो इनर्जी इण्डिया लिमिटेड
ग्रिनजो इनर्जी इण्डिया लिमिटेडले सानन्द जीआइडीसीमा इलेक्टोलाइजर उत्पादन प्लान्ट स्थापना गर्नका लागि आचार्यजनक रूपमा ३ हजार ५ सय करोडको लगानी गर्दै छ। यो स्मारकीय परियोजना भारतीय सङ्घीय गृहमन्त्री अमित शाह र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलको उपस्थितिमा गएको अक्टोबर २४, २०२३ मा सुरुवात गरिएको छ। ग्रीनजो इनर्जीका प्रबन्ध निर्देशक सन्दीप अग्रवालका अनुसार कम्पनीले ग्रीन हाइड्रोजन क्षेत्रका लागि १, २ र ५ मेगावाटको अलकलाइन इलोकट्रोलाइजर उत्पादनको तयारी भएको छ।
पहिलो चरणमा ३ सय ५० करोड रुपैयाँ आवश्यक रहँदा पाँच वर्षका लागि मल्टी बिलियन लगानीको योजना रहेको छ। यो प्लान्टको पहिलो चरणको काम सकिदा १२५ मेगावाटको क्षमता रहन्छ, यो महत्त्वाकाङ्क्षी परियोजनामा यसको क्षमता हरेक दुई वर्षमा दोब्बर हुँदै जान्छ । अन्तिम लक्ष्य चारदेखि पाँच वर्षमा १ गिगावाट हुन्छ।
अग्रवालले महत्त्वाकाङ्क्षी समयलाई जोड दिँदै, ग्रीन हाइड्रोजन प्रविधिलाई अगाडि बढाउन अत्यावश्यकता र प्रतिविद्धतालाई उजागर गर्दै सात महिनाभित्र प्लान्ट पूरा गर्ने लक्ष्य राखेको बताएका छन्। ग्रीनजो इनर्जीले पहिले नै १ हजार १ सय करोड रुपैयाँ बराबरको अर्डर बुक गरिसकेको छ। यो भनेको ग्रीन इनर्जीका लागि बढ्दो बजारको प्रमाण हो। सानन्द जीआइडीसी अहमदाबाद गुजरातमा १३ हजार ७ सय १७ वर्ग मिटर जग्गा सुरक्षित गरिएको छ। ग्रीन हाइड्रोजन उत्पादनमा भारतको लक्ष्य प्राप्त गर्न ग्रीनजो इनर्जी लिमिटेडको अभियान बलियो सहयोगी बन्ने विश्वास गरिएको छ।