arrow

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका उम्मेदवारहरूको दौडधुप

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
congress-gandaki.jpg

पोखरा । आशन्न राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा सत्तापक्षीय गठबन्धनले गण्डकीमा चुनाव प्रचार-प्रसार र मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ । जसअन्तर्गत नवलपुर, गोरखा र लमजुङमा मतदाता भेटघाट सकिएको छ ।

गठबन्धनले गण्डकी प्रदेशमा कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा), पदमबहादुर परियार (तनहुँ) र माओवादी केन्द्रकी मनरुपा शर्मा (पर्वत) लाई उम्मेद्वार बनाएको छ ।

मतदाता भेटघाटमा उम्मेद्वारहरूले संविधानले निर्दिष्ट गरेका अधिकारअनुरुप राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

गोरखामा आयोजित कार्यक्रम नेपाली कांग्रेस गोरखाका सभापति नन्दु न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा उम्मेद्वारत्रयसहित माओवादी केन्द्र गण्डकी प्रदेशसभाका संसदीय दलका नेता हरिबहादुर चुमान, कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने लगायतले बोलेका थिए ।

गोखरामा उम्मेद्वारहरूलाई कांग्रेस गोरखा र नेकपा माओवादी केन्द्र गोरखाले पार्टी कार्यालयमा छुट्टाछुट्टै स्वागत गरिएको थियो ।

यता, लमजुङमा आयोजित कार्यक्रमको सभापतित्व कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेशसभा सदस्य डा. टकराज गुरुङले गरेका थिए ।

कार्यक्रममा उम्मेद्वारहरुसहित कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, माओवादी केन्द्रका गुणाखर बस्याल, आशा कोइराला लगायतले सम्बोधन गरेको कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी दिए ।

प्रदेशको अन्य जिल्लामा माघ ९ गतेसम्मका लागि कार्यक्रमहरू तय गरिएको कांग्रेस गण्डकी प्रदेश प्रचार-प्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ