संविधान संशोधन गरेर देश बिखण्डन गर्ने काम एमालेले गर्न सक्दैन: ओली
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
952
Shares
उदयपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा संविधान संशोधन भए पनि देश र जनताको शीर झुक्ने काम हुनै नसक्ने बताएका छन् ।
एमाले उदयपुर कटारी नगर समितिको नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले संविधान संशोधनको बाधक नभएको तर संविधान संशोधन गर्ने नाममा देशको शीर झुकाउने र जनताको शीर निहुरिने काम कदापी हुन नदिने बताए ।
संविधान संशोधन गरेर देश बिखण्डन गर्ने जातीय र क्षेत्रीय नाममा मधेस र पहाडलाई टुक्राटुक्रा पार्ने काम एमालेले गर्न नसक्ने ओलीको भनाइ छ । “वर्तमान अवस्थामा देशमा संविधान कार्यान्वयन गर्नु आवश्यक छ, समयमा निर्वाचन गर्नु आवश्यक छ, यो बाटो खुलाउनुपर्छ,” ओलीले भने ।
आफू सरकारमा हुँदा चीनसँग नेपाल जोड्ने र पुर्व पश्चिम रेलवेको सम्झौता तथा अवधारणा ल्याएको स्मरण गर्दै नेता ओलीले आफूहरू अहिले सरकार बाहिर रहेतापनि चीनसँग भएका सम्झौता कार्यान्वयनमा दबाब दिने बताए ।
वरिष्ठ नेता माधवकुमार नेपालले निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त लोकमानसिंह कार्कीले पद र अधिकार दुरुपयोग गरेका कारण एमालेसहितका दलले कार्कीलाई महाअभियोग लगाएर हटाउन संसद्मा प्रस्ताव ल्याएको बताए ।
महाअभियोग प्रस्ताव बुहमतबाटै पारित हुने र यसमा नेपाली काँग्रेसले खुट्टा कमाउन नहुने नेपालको भनाई छ । “लोकमानविरुद्धको महाअभियोगमा खुट्टा कमाए देश र जनताबाट नेपाली काँगे्रसको पत्तासाफ हुन्छ,” नेता नेपालले भने ।
कार्यक्रमलाई एमालेका केन्द्रीय सदस्य भीम आचार्य, जगन्नाथ खतिवडा र बलदेब चौधरी तथा सांसद इच्छाराज तामाङलगायतले सम्बोधन गगरे । भवन निर्माणका लागि कटारीका स्थानीय स्वर्गीय पदमबहादुर बलको परिवारले एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेको थियो । १५ लाखको लागतमा निर्माण भएको सो भवन सांसद इच्छाराज तामाङको संसदीय कोष र व्यक्तिगत सहयोगमा निर्माण गरिएको हो । रासस