कास्की । सत्ताधारी दल माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको सय दिन सफल भएको सुनाएका छन् ।
प्रेस सेन्टर नेपाल कास्कीले कास्कीको पोखरामा गरेको पत्रकार भेटघाटमा पुनले सरकारको गति भने कछुवाकै चाल भएको स्वीकारे । यद्यपि, उनले काम भएको जिकिर गरेका छन् ।
नेता पुनले नेपाल–भारतबीच देखिएको चिसोपनको सम्बन्धलाई सुधारेर न्यानोपन र विश्वासको वातावरण सरकारले बनाएको बताए ।
उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टी भित्रबाट पुरै सहयोग रहेको छ । कसैले असहयोग गरेको छैन ।’ केही दिन अघि प्रधानमन्त्रीले मन्त्रीहरुमाझ पार्टीभित्रैबाट असहयोग भएको भन्दै गुनासो गरेका थिए ।
यस्तै, अर्को प्रसंगमा नेता पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव टुंगोमा पुग्ने जिकिर समेत गरेका छन् ।