arrow

हानथाप नेतृत्वको

बालकुमारी घटनापछि ललितपुर प्रहरी प्रमुखविहीन, कमाण्ड सम्हाल्न तँछाड–मछाड

प्रहरी प्रधान कार्यालयको चाहनामा गृह मन्त्रालय बाधक, सोर्स लगाउन प्रहरी अधिकारीहरु प्रचण्ड र देउवालाई भेट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको घटनामा ललितपुर प्रहरी प्रमुख तानिएको एक साता पुग्न लाग्दा पनि कसैलाई पठाइएको छैन । 

खासगरी दुई एसएसपीको चर्चा भए पनि विभिन्न शक्ति केन्द्रबाट चलखेल हुँदा प्रहरी प्रधानकार्यालयले त्यहाँ कसैलाई पठाएको छैन । 

केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका एसएसपी दिनेश आचार्य र ट्राफिक महाशाखामा रहेका राजेन्द्र भट्टमध्ये एकलाई पठाउने गरी चर्चा चलेको थियो । 

कुनै शक्ति केन्द्रको दबाब नदिएमा प्रहरी प्रधानकार्यालयले उनीहरुमध्ये एकलाई पठाउने तयारी गरेको स्रोतको दाबी छ । उता एसपी हुँदै चितवन र गोर्खा दुवै जिल्लाको काण्ड गरिसकेका र शक्तिको आडमा रमाउन चाहने ओम अधिकारीले पनि ललितपुर परिसर ताकेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गृहमन्त्रीस्तरीय निर्णयबाट हुने प्रावधान छ । गृहमन्त्री छन् माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ । तर श्रेष्ठले ठाउँ खाली हुँदासमेत सरुवा गर्न सकिरहेका छैनन् । 

उनले आफू निकट प्रहरी को छ भनेर खोजी गरिरहेको स्रोतले जनाएको छ । एसएसपी भैसकेपछि कहीँ कतै इन्चार्ज नपाएका आचार्य र भट्टको संभावना रहेको स्रोतले जनाएको छ । 

भट्ट अहिले ट्राफिक महाशाखामा प्रवक्ताको रुपमा रहेका छन् भने आचार्य पनि सिआइबीकामा कार्यरत छन्  । ‘सिनियर प्रहरी अधिकृत उहाँहरु नै भएकाले प्रहरी महानिरीक्षकको रुची पनि उहाँहरुमध्ये एकलाई परिसरको प्रमुख बनाएर पठाउने रहेको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । 

उनीहरुबाहेक क्षमताका आधारमा भन्दा शक्तिका आधारमा ललितपुर जिल्लाको इन्चार्ज हुन धेरै एसएसपीहरु लागिपरेका छन् । केही एसएसपीहरुले गृहमन्त्री श्रेष्ठको टिमलाई भेटेरै आफूलाई पठाउन भनिरहेका छन् । 

एसएसपीहरू दिनेशराज मैनाली, हिमालयकुमार श्रेष्ठ, शेखर खनाल, विश्व अधिकारी, दिपक रेग्मी, सानुराम भट्टराई, प्रविण पोखरेल, मुकुन्द मरासिनी, रेवती ढकाल, ललितपुर परिसर जान लागिपरेका छन् । 

उनीहरुमध्ये केहीले गृहमन्त्री श्रेष्ठ, केहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत दबाब दिइरहेको भए पनि भट्ट र आचार्यमध्ये एकलाई पठाउने प्रहरी प्रधान कार्यालयको तयारीमा गृह मन्त्रालय बाधक बनिरहेको स्रोतको दाबी छ । 

गत शुक्रबार ललितपुरको बालकुमारी घटनापछि ललितपुर प्रहरी प्रमुख रहेका एसएसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाएपछि उक्त ठाउँ खाली भएको छ । तर अहिलेसम्म गृहमन्त्री श्रेष्ठले एसएसपी शाहको ठाउँमा अर्को व्यक्तिलाई पठाउन सकेका छैनन् । 

ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने दुई जना युवकले ज्यान गुमाएपछि त्यहाँका प्रमुख एसएसपी शाहलाई प्रधानकार्यालय तानिएको थियो । 

उनी एक वर्षअघि ललितपुर परिसरको कमाण्ड गर्न पुगेका थिए । उनको सरुवा अवधि पनि पुगेकाले प्रधान कार्यालयले तानेको हो । 

ललितपुरमा सुरक्षाकर्मीले हानेको गोली अछामका वीरेन्द्र शाहको पेटमा लागेको थियो । शाहलाई प्रहरीले प्रहार गरेको सेल्फ लोडिङ्ग राइफल (एसएलआर) को गोली लागेको पुष्टि भएको छ । दैलेख घर भएका सुजन रावतको छातीमा नीलडाम भेटिएको छ । सुजनलाई गोली नलागेको तर, भागदौडमा मृत्यु भएको हुन सक्ने बताइएको छ । 

गत पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरू बिहान ७ बजे नै ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा जम्मा भएका थिए । 

पानीजहाज निर्माण गर्ने कम्पनीका लागि दिएको परीक्षामा असफल भएकाहरूले उत्पादनमूलक क्षेत्रमा पनि फारम भर्न पाउनुपर्ने माग गरेका थिए । 

त्यस क्रममा झडप हुँदा त्यहाँको परिस्थिति सुुरक्षाकर्मीहरुको नियन्त्रणभन्दा बाहिर गएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ