काठमाडौँ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसङ्घ (सीएनआई) को एक अध्ययनले बजार मागमा सुधार हुन नसकेको देखाएको छ । पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदै गएको र बजार चलायमान हुन थालेको सरकारले बताइरहेका बेला सिएनआइ यो अध्ययन सार्वजनिक भएको छ ।
उपभोक्ता बजार मागमा देखिएको सङ्कुचनमा अपेक्षित सुधार हुने नसकेको परिसङ्घको अध्ययनले देखाएको हो । परिसङ्घले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार समग्र बजार माग खस्किएको, कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको र उद्योगको कच्चा पदार्थको आयातमा गिरावट आएको देखिएको हो ।
विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरी यो प्रतिवेदन तयार पारिएको परिसंघले जनाएको छ । आज यहाँ एक औपचाकि कार्यक्रमकाबीच अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।
अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गत वर्षदेखि नै उद्योगी-व्यवसायीको मनोबल कमजोर बनिरहेकोमा यसवर्ष पनि यथावत रहेको बताए ।
सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८ दशमलव २८ प्रतिशतले ह्रास आएको थियो । यो चालु आवको सोही अवधिमा थप १२ दशमलव ०६ प्रतिशतले घटेको देखिएको छ ।
गतवर्षको तुलनामा चालु आर्थिक वर्षमा उद्योगहरूको समग्र मागमा ३६ दशमलव ९३ प्रतिशतले सङ्कुचन आएको अध्ययनबाट देखिएको छ । उद्योगको कारोबार रकम गत आवको पहिलो त्रैमासमा २४ दशमलव ९४ प्रतिशतले घटेकोमा चालु आवको समान अवधिमा सात दशमलव ४६ प्रतिशतले घटेको देखिन्छ । अघिल्लो आवको तुलनामा यो ३० दशमलव ५४ प्रतिशतको सङ्कुचन हो ।
सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९ दशमलव ४४ प्रतिशत उद्योगी-व्यवसायीले आफ्नो लगानीका योजना स्थगित गरेको जनाएका थिए भने चालु आवको पहिलो त्रैमासमा ५५ दशमलव ३२ प्रतिशत उद्योगी व्यवसायीले आफ्ना लगानीका योजना स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरे अनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको परिसङ्घको बुझाइ छ ।
परिसङ्घको अध्ययनअनुसार सिमेन्ट उत्पादक उद्योगको समग्र मागमा अघिल्लो वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सात दशमलव ३६ प्रतिशतको सङ्कुचन आएको छ । पछिल्लो तीन वर्षमा सिमेन्टको समग्र मागमा ४४ दशमलव ५७ प्रतिशतले गिरावट आएको अध्ययनबाट देखिन्छ ।
सर्वेक्षणअनुसार निर्माण व्यवसाय क्षेत्रमा गत वर्षको तुलनामा यसवर्ष १६ दशमलव २० प्रतिशतको गिरावट देखिएको छ । आव २०७८/७९ को तुलनामा चालु आव २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कूल ५२ दशमलव ५९ प्रतिशतले सङ्कुचन आएको पाइएको छ ।
निर्माण व्यवसाय क्षेत्रका उद्योगको कारोबार रकम अघिल्लो वर्ष ४३ दशमलव ७१ प्रतिशतले घटेकोमा चालु आवको सोही अवधिमा थप २० दशमलव ८० प्रतिशतले घटेको परिसङ्घले जनाएको छ ।
अघिल्लो वर्षको पहिलो त्रैमासमा साना तथा मझौला क्षेत्रको माग दुई दशमलव ५० प्रतिशतले बढेकोमा यस वर्षको सोही अवधिमा १७ दशमलव ७० ले गिरावट आएको देखिएको छ ।
यस क्षेत्रको समग्र मागमा अघिल्लो वर्षको तुलनामा १५ दशमलव ६४ ले सङ्कुचन आएको अध्ययनबाट देखिएको छ । यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२ दशमलव २५ प्रतिशतले बढेकोमा चालु आवको सोही अवधिमा १८ दशमलव ५० प्रतिशतले घटेको छ । रासस