arrow

एउटै मञ्चमा देउवा र सिटौलाको मत बाँझियो, स्थानीय चुनावबारे के भने दुवैले ?

पुरानै संरचनामा भए पनि चुनाव हुनु पर्छ : देउवा, संघीय संरचना अनुसार चुनाव गर्न नेताहरु खुट्टा कमाइरहेको छन् : सिटौला

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
nagar-savhapatiko-bhela-banepa.jpeg

बनेपा । स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयनबारे कांग्रेस नेताहरुकै मत बाँझिएको छ । विहिबार काभ्रेको बनेपामा नगर सभापतिहरुको भेलापछि आयोजित आम सभामा बोल्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाबीच नै मत बाँझिएको हो ।

राज्य पुनःसंरचना र आगामी स्थानीय निकायको निर्वाचनबारे रणनीति तय गर्न भेला भएका नगर सभापतिहरुमाझ दुवै नेताले स्थानीय निकायको निर्वाचनबारे धारणा राखे ।

स्थानीय तहमा सबै सहमत नभए पुरानै संरचनामा भएपनि निर्वाचन हुनु पर्छ : देउवा
कांग्रेस सभापति देउवाले स्थानीय निर्वाचन निर्धारित समयमै हुनु पर्ने बताउँदै महत्वपूर्ण स्थानीय तहको निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

देउवाले भने, ‘निर्वाचन हुन्छ, हुनु पर्दछ  । संघीय संरचनाको विषय जटिल छ । जसको लागि सहमति जुटाउनु पर्ने छ । स्थानीय तहमा सहमति जुटेन भने पनि पुरानै संरचनामा भएपनि निर्वाचन हुनु पर्दछ ।’ निर्वाचनका लागि कांग्रेस पूर्ण रुपमा तयार रहनु पर्दछ ।  

संघीय संरचनाअनुसार निर्वाचन गर्न शीर्ष नेताहरु खुट्टा कमाइरहेका छन् : सिटौला

कांग्रेस नेता सिटौलाले संघीय संरचना अनुसार नै स्थानीय तहको निर्वाचन हुनु पर्नेमा जोड दिए । सिटौलाले पार्टी सभापतिसहित शीर्ष नेताहरुतिर संकेत गर्दै भने, ‘संविधानमा व्यवस्था भए अनुसार चुनाव गर्न नेताहरुले खुट्टा कमाइरहेका छन् । संघीयता अनुसार नै जानु पर्दछ ।’ पार्टीको हकमा पनि त्यही हो । संघीय संरचनाअनुसारकै विभागहरु बनाउनु पर्दछ ।

सिटौलाले नगर सभापतिहरुको भेलाले दिएको १५ बुँदे प्रस्तावलाई केन्द्रीय समितिको बैठकमा छलफल गर्न लगाउने सेमत बताए । उनले भने, ‘तपाईहरुले दिएको सुझाव महत्वपूर्ण छ । यसबारे केन्द्रीय समितिमा छलफल हुन्छ ।’ देशभरबाट बनेपामा भेला भएका करिब १ सय ७५ बढी नगर सभापतिहरुले १५ बुँदे सझाव तयार पारेका छन् ।

सुझाव पत्रमा पार्टीको विधान बमोजिम संघीय संरचना अनुसारका विभागहरु निर्माण गर्न माग गर्ने, आगामी चैतमै स्थानीय तहको निर्वाचन गराउन शीघ्र पहल गरिनुपर्ने उल्लेख छ ।

यस्तै, स्थानीय तहको निर्वाचनमा जाँदा वडा अध्यक्ष र सदस्यको उम्मेद्वारीका लागि वडा समितिले गरेको निर्णयलाई नगर कार्यसमितिले अन्तिम रुप दिने र नगरको मेयर उपमेयरको उम्मेद्वारी सिफारिसलाई जिल्ला कार्यसमितिले अन्तिम रुप दिनु पर्ने भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ