घाँस काट्न गएका सासूबुहारी घर फर्किएनन्, दुवैको शव फेला
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
895
Shares
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृत्युहुनेमा ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल छन् ।
प्रनाउ पौडेलले स्थानीय खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको बताए ।
“उहाँहरु नभेटिएको भनी आइतबार मौखिक उजुरी परेपछि प्रहरीसहित ६० जनाको टोली जङ्गलमा खोजतलासका लागि गएका थियौँ”, उनले भने, “खोजतलासका क्रममा आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटियो ।”
प्रनाउ पौडेलकाअनुसार विष्णुको बायाँ कम्पर र मनादेवीको बायाँपट्टि पछाडिको भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो ।
शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा बाघको आक्रमणबा मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने प्रनाउ पौडेलले बताए ।