arrow

तिलौराकोट संघीय गणतन्त्र र सभ्यता विकासको जननी भूमि – बाबुराम भट्टराई

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८० मंसिर ३० शनिबार
kapilvastu-bikas-kosh-babur.jpg

कपिलवस्तु । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तिलौराकोट संघीय गणतन्त्र र सभ्यता विकासको जननी भूमि भएको बताएका छन् । डा. भट्टराईले प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यतामध्ये एक रहेको बताए । 

तिलौराकोट दरबार क्षेत्रमा आयोजना गरिएको कपिलवस्तु विकास कोष गठनका लागि संकल्प प्रस्ताव कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले तिलौराकोटमा भएको विभिन्न अध्ययन अनुसन्धानले विश्वको विकसित सभ्यता रहेको पुष्टि भइसकेको बताए ।

उनले भने, ‘इतिहासमा जुन हामीले मोहन जोदारो र हडप्पन सभ्यताबारे पढ्ने गरेका छौँ, त्यो सभ्यताको हाराहरीमा तिलौराकोटनै रहेको छ। ” उनले कपिलवस्तुमा रहेको ऐतिहासिक एवम् पुरातात्विक सम्पदालाई सही ढंगले प्रचार प्रचार नभएको बताए । जुन देशले आफ्नो इतिहासप्रति गर्व गर्दैन त्यो देशको भविष्य नरहेको उनको भनाइ छ ।

पुरातत्विक एवम् ऐतिहासिक रुपले महत्वपूर्ण रहेको कपिलवस्तुलाई ठिक ढंगले स्थापित गर्नुपर्ने उनले बताए । तिलौराकोट जस्ता सम्पदा विकासका आधार र आर्थिक केन्द्र रहेको भट्टराईले बताए । उनलेपर्यटनसँगै कृषि र उद्योगको विकास हुनु जरुरी रहेको बताए ।

कार्यक्रममा उपस्थित सरोकारवालाले लुम्बिनी विकास कोषको कार्यक्षेत्रभित्र परेका स्थलमध्ये ७ वटा कपिलवस्तुमा परे पनि सबै विकास लुम्बिनी आसपास मात्र केन्द्रित रहेको गुनासो गरेका थिए । 

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, पूर्व मन्त्री बृजेशकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खाँ, विजयनगर गाउँपालिकका अध्यक्ष गोपालबहादुर थापा, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ