arrow

भावी प्रधानसेनापति सिग्देलको रथीमा बढुवा  

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
ashokraj-sigdel-rathi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि गत साता बढुवाको फाइल अगाडि रहेको भए पनि रक्षा मन्त्री पूर्णबहादुर खड्का बाहिर भएकाले निर्णय भएको भए पनि  थाँतीमा राखिएको थियो । 

यसअघि नै सिग्देललाई रथीमा बढुवाको लागि सेनाको बढुवा समितिले रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो । रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि फाइल अगाडि बढाएका थिए । 

उनलाई नेपाली सेनाका भावी प्रधानसेनातपतिका रुपमा हेरिएको छ । उनी साउनदेखि कायममुकायम प्रधानसेनापति हुनेछन् । 

सिग्देल ९ महिनापछि नेपालको ४५ औँ प्रधानसेनापति बन्ने निश्चितजस्तै भएको छ । सिग्देलका बारेमा कुनै कैफियत नरहेको र केही बेनामे उजुरीउपर नेपाली सेनाले छानबिन गरेर उनको फाइल रक्षा मन्त्रालयमा पठाएको थियो ।  

सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा कीर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले यस विषयमा छानबिन गरेको थियो । 

उक्त छानबिनमा एसएलसीको प्रमाणपत्र र नागरिकतामा भएको जन्ममितिमा कुनै विवाद नदेखिएपछि सिग्देलको नाम सिफारिस भएको थियो । 

सोही अनुसार रथी पदका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले नेपाल सरकारसमक्ष बढुवा सिफारिस गरेको थियो । 

रथी भएसँगै सिग्देल आगामी साउन २४ गतेबाट कायममुकायम प्रधानसेनापति बन्ने लगभग पक्का छ । 

तनहुँमा जन्मेका सिग्देलको स्थायी घर रुपन्देहीको भैरहवा हो । सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ