arrow

मौरीपालनमा किसान आकर्षित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
bee.jpg
तस्बिर-फाइल

गुल्मी । गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आकर्षित हुन थालेका छन् । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्न थालेको हो ।

गुल्मीदरबार गाउँपालिका-१ बलिथुमका मानबहादुर फुङ्जेली विगत १३ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् । त्यसबाहेक कागती र सुन्तलाखेती पनि गरिरहेका छन् । फङ्जेलीसँग यतिबेला ४० मौरीका घार छन् ।

उनले कृषिज्ञान केन्द्र गुल्मीबाट हालै १० वटा मौरीका घार पनि अनुदानमा पाएका छन् । उनका अनुसार मह बिक्रीबाट मात्रै वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको छ ।

मह दमका बिरामी र रुघाखोकीको समस्याबाट ग्रसित व्यक्तिका लागि निकै उपयोगी मानिन्छ । तोरी, चिउरीलगायतका फूल फुल्ने समयमा किसानले एक सिजनमा दुई पटकसम्म मह काढ्छन् ।

अग्र्यानिक मह उत्पादन गर्न सकेमा बजारीकरणको कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउछन् । यहाँ मह प्रतिकेजी रु एक हजार पाँच सय र मौरीसहितको घार रु आठ हजारदेखि नौ हजारसम्म बिक्री हुँदै आएको छ ।

गुल्मीमा उत्पादन भएको मह स्थानीय बजारदेखि बाह्य बजारमा खपत हुँदै आएको छ ।

जिल्लामा व्यावसायिक रुपमा पाँच वटा घारभन्दा बढी मौरीपालन गर्ने किसानको सङ्ख्या दुई सयभन्दा बढी छ । तीमध्ये तीन हजार छ सय आधुनिक र दुई सय ३६ परम्परागत घारमा मह उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ