arrow

‘पैतालामा हिउँ आँखामा हिमाल’  ठम्याइ टोपल्दै

logo
शीतल गिरी,   
प्रकाशित २०८० मंसिर २३ शनिबार
shital-giri-2080-08-23.jpg

यात्रा गर्दै नियात्रा साहित्य लेखनको सन्दर्भमा यो पुस्तकको समिक्षा गर्नु सान्दर्भिक हुन जान्छ । ऐतिहासिक यथार्थका तथ्य प्रमाणहरू पछिकालाई भनेर जोहो गरेर राख्ने चेत नआएकै हुँदा नियात्राकारलाई विगतका कालखण्डका कुराहरूको मेलो पहिल्याउन वर्तमानमा एउटा अति कष्टसाध्य र अति कठिन कार्य सिद्ध भएको छ । 

हाम्रो नियात्राका ताथ्यिक पृष्ठभूमिहरू धमिला भएर ठम्याउन गाह्रो छ । यस्तैमा २०७८ सालमा नियात्राकार राजेन्द्रमान डङ्गोलको एउटा नियात्रा कृति प्रकाशित भयो— ‘पैतालामा हिउँ आँखामा हिमाल’ ।         
 
फिनिक्स बुक्सले प्रकाशित गरेको यस्तो ज्ञानबर्धक, यात्रा गर्न उत्प्रेरणा जगाउने यस कृति प्रकाशनमा आउनु लेखक र प्रकाशक नेपाली नियात्रा साहित्य जमातका प्रशंसाका पात्र हुन् । एउटै कृतिमा काठमाडौँ वरपर भ्रमण गरेको आनन्द र हिमालमा रमाएको अनुभूतिमा डुब्न पाइन्छ । 

यसमा लेखकले आफू यात्रामा गएको ठाउँमा पाएका, देखेका, व्यहोरेका जस्ता धेरै कुराहरूका कारण यो कृति नेपाली नियात्रा साहित्य संसारको एउटा अद्वितीय दस्तावेज सिद्ध भएको छ । राजेन्द्रमान डङ्गोल पेशाले पर्यटन व्यवसायी रहेको र धेरै लामो समयदेखि नेपालका हिमाली पहाडी क्षेत्रमा यात्रा गरी अनुभव बटुलेका, खैलाबैला कति पनि नगरी मौन साधनाका साधक भएर, एउटा अत्यन्तै महत्वपूर्ण कार्य निष्पादन गरे ।     
    
यति राम्रो कृति प्रकाशन गर्ने कार्यलाई हामीले— यसको पारखी जौहरीको जस्तो हिराको परख यानी समूचित मूल्याङ्कनको लागि हामीले समय पर्खनु पर्छ । अहिलेलाई भने हामीले यस नियात्रा संग्रहलाई जौहरीको प्रतीक्षारत हिराको टुक्रा भन्नु पर्छ । ‘पैतालामा हिउँ आँखामा हिमाल’ मा डङ्गोलले कोरोना कहरको समयलाई काठमाडौँ वरपर गरेको यात्राको गतिविधिलाई साहित्यमार्फत चर्चा गरेका छन् ।         

हाम्रो साहित्यमा यात्रा निबन्धको स्पष्ट रेखाङ्कन १९१९ सालको ‘जङ्गबहादुरको बेलायत यात्रा’ बाट शुरु भएको साहित्यिक अन्वेषक, विश्लेषकबाट मूल्याङ्कन गरिएको छ । नियात्राकार डङ्गोलको ‘हिँड्न बाँकी पाइला’ मा भनिएको छ— ‘भविष्यकै गर्तमा छ— जीवन यात्रामा कतिसम्म हिँडिएला वा हिँड्न सकिएला । मलाई यो थाहा छ, जीवनमा हिँड्न बाँकी धेरै छ ।'  
    
वास्तवमा लेखकको ‘यात्राका पाइला’ (२०७३) पछिको यस नियात्रा कृतिमा २०६० जेठ ८ गतेदेखि २०७७ माघ २७ सम्म गरिएका यात्रानुभूति समेटिएको छ । निबन्धको पूर्व इतिहास केलाउने क्रममा हामी १९१९ पुगेकै हुन्छौँ, यही मान्यता अनुरूप निजत्व अनुभव अनुभूति भएकालाई नियात्रा भन्न थालेका छौँ । अब यसो भनौँ नियात्रा लेखनको श्रेय ताना शर्मालाई जान्छ भने न्वारन चाहिँ प्रा. बालकृष्ण पोखरेलबाट भएको हो ।        

अब नियात्रा भन्न अप्ठेरो छैन, विशेष गरी नेपाली साहित्य नियात्राका कृतिहरूले उज्यालिएको प्रामाणिक तथ्यहरू खोजीपस्दा सहजै फेला पर्छ ।
        
यस संग्रहको बारेमा आरएम डङ्गोल लेख्छन्, ‘...पछिल्लो समय अत्यन्त सक्रिय र ऊर्जाशील प्रतिभाका रूपमा देखापरेका व्यक्तित्व हुन्, राजेन्द्रमान डङ्गोल । यो कृति उनको नियात्रा लेखन यात्राको निरन्तरताको दोस्रो साक्ष्य हो । यो कृतिमा व्यावसायिक प्रयोजन, पर्यटन प्रबद्र्धन र स्वतन्त्र वा मनमौजी ढङ्गले सम्पन्न वैयक्तिक यात्रा अनुभूतिलाई दैनिकी लेखनको ढाँचामा व्याख्यात्मक र विवरणात्मक शैलीमा प्रस्तुत गरिएको छ । उच्च हिमाली भेगको जनजीवन र संस्कृतिप्रति नियात्राकारको गहिरो अभिरुचि देखिन्छ । उच्च स्थानबाट देखिने अलौकिक, रहस्यमय दृश्य, त्यहाँका थुम, भन्ज्याङ, घाँटी, नदीनाला, छहरा छाँगा, ताल तलैया जस्ता प्राकृतिक सम्पदाको महिमा (साक्ष्य पाँच), बौद्ध स्तूप छ्योर्तेन, मणिवाल वा लुङ्दा–लुङ्दरले सिँगारिएको सांस्कृतिक झाँकी उनको लेखनको विषय क्षेत्र बनेको छ । त्यसैगरी उनले जैविक विविधतायुक्त हिमाली, पहाडी भूबनोट, जडीबुटी, पशुपन्छीको उपयोगिता र महत्व (साक्ष्य एक) बारे विभिन्न सूचना र तथ्यसहित आफ्नो अभिमत जाहेर गरेका छन् ।’          

नियात्रा लेखन ताना शर्मा, निर्मोही व्यास, देविचन्द्र श्रेष्ठ, कृष्ण बजगाई, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, दामोदर पुडासैनी ‘किशोर’, प्रतीक ढकाल, चन्द्रप्रसाद भट्टराई, जय छाङ्छा लगायतको विशिष्ट रहेको सत्य स्वीकार्नै पर्छ । 

नियात्राको धर्म वास्तवमा ताना शर्मा र निर्मोही व्यास जस्ता केहीले जोगाएका छन्, पाठकलाई आफ्नो साथमा हिँडाउन सकेका छन् यो भन्न सक्नुपर्छ । त्यसैगरी देविचन्द्र श्रेष्ठ, प्रतीक ढकाल, जय छाङछा, भीष्म उप्रेती, श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतको लेखन पनि पाठक मैत्री रहेको छ ।        

यस नियात्रा सङ्ग्रहमा नियात्राको शीर्षक ११ वटा देखिन्छ । यथार्थमा यसमा नियात्रा त ३१ ओटा रहेका छन् । पहिलो हेलम्बुमा हेलिंदामा क. ‘फ्ल्यासब्याक’मा हेलम्बु, ख. ग्रेटवाल छेउमा पुग्दा गरी दुईओटा रहेका छन् । नियात्रा लेखनमा फ्ल्यासब्याकमा गएर विषयान्तर नभएर फेरि सोही स्थानमा फर्किन सक्ने राजेन्द्रमानको लेखन कला सशक्त छ । हुन पनि हो लेखनमा लेखकले आफ्नो पन ल्याएर पहिचान बनाउनु भनेको म कोहीभन्दा कम छैन भन्नु पनि हो । यो गौरवको कुरा हो आफ्नो पन छाडनु हुन्न बरू माझेर चम्काउँदै लैजानु पर्छ । नत्र भने लेख्नेहरूको भीडमा हराउन पुगिन्छ ।            

हजुर, साहित्यको सागरमा नहराउनको लागि आफ्नोपन सहितको कृति लिएर समय समयमा मुख देखाउनै पर्छ । साहित्यको आकाशमा पुग्न सहज छैन । साहित्यको धरातलमा पाइला बलियोसँग अड्याउन अथक प्रयास गर्नै पर्छ । दुःखको कुरा ! राजेन्द्रमानद्वारा लिखित यो कृति राम्रो रहदा रहँदै पनि खास चर्चामा आएन ।     पर्यटन व्यवसायी र आफ्ना चिनेजानेकाबीच मात्र चर्चा गरिन्छ ।        

यसबाट नेपालमा पठन संस्कृतिको राम्रो विकास नभएको लख काट्न सकिन्छ । नियात्राकारको विषय उठान र शैली राम्रो छ । नियात्राका क्रममा दोस्रो बादलमाथिको मन्दिर रहेको छ । यसमा रहेको नियात्रा ‘थाकखोलाको सेरोफेरो’ पढ्दा आनन्द आउँछ । यसमा थाकखोला र सोको वरपरको शौन्दर्यलाई राजेन्द्रमानले शब्दको कारागारमा कैदी बनाएर थुनेका छन् । ‘प्रेमको प्रतीक ः धुम्बाताल’ पुग्नै पर्ने ठाउँ रहेछ । मुक्तिनाथ क्षेत्रभरि टाँगिएका लुङदर र त्यहाँको हरियो वृक्षको ‘अलौकिक दृश्य’ मनफुकाएर पाठकमाझ राखेका छन् ।             

यसो त मल्लकालीन सांस्कृतिक सम्पदा ‘इन्द्रदहमा पाँगा कल्पिँदा’ शीर्षकभित्र ‘इन्द्रदहको पौराणिक कथन’ र ‘कल्पनामा डुब्दै, भावमा नुहाउँदै’ नियात्रामा इन्द्रदह र दहचोक डाँडाको संक्षिप्त चर्चा गरिएको छ । यस ठाउँको यात्रा स्युचारटारका मनराज दवाडीको साथमा गरेको भनी लेखिएको छ । 

असोज महिनामा पानी परेर मौसम नखुलेको अवस्था सार्थ स्वेच्छाले भन्दा पनि दाजु समान मित्रको  करको कारण भएको थाहा हुन्छ । यो यात्रा यथार्थमा नियात्राकारको लागि ज्ञान र मनोरञ्जन दुवै दृष्टिले सफल यात्रा बन्न गएको पाठकले  थाहा पाउँछन् । यसको साथै इन्द्रदहको बारेमा लोकबीच रहेको मान्यता र काजी कालु पाँडेको इमान्दारी बुझ्न सकिन्छ ।        

हो यस्तो ज्ञान, त्यहाँ पुग्दा हुने पनि होइन, भ्रमण गर्ने व्यक्ति जिज्ञासु भएमा अवश्य प्राप्त गर्न सक्छ ।
नियात्राकार मलेसियन कम्पनी नोम्याड एडभेन्चर परिवारलाई अन्नपूर्ण बेसक्याम्पको पदयात्रा गराएको प्रसङ्ग छ “पोखरा पल्तिर” मा । पेशाले पर्यटन क्षेत्रको गाइड भएपनि मनबाट भावुक हृदयका साहित्यकार रहेका राजेन्द्रमानको यस यात्राको उपलब्धिको रूपमा ‘उकालिँदै अस्टे«लियन क्याम्प’ र ‘जङ्गलको बाटो जुकाको चुसाइ’ लेखेका हुन् । 

शैक्षिक यात्राका लागि निस्किएका काठमाडौँ एकेडमी अफ टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्ट (क्याथ) का २८ जना विद्यार्थी र दुई जना शिक्षकलाई ग्रामीण गरिबी निवारणका लागि पर्यटन परियोजना (टीआरपीएपी) ले पहिचान गरेको गन्तव्य सिराइचुली (१९७२ मिटर) आरोहण गरेको नियात्रा हो ‘सिराइचुलीमा चुलिँदा’ । 

रूची अनुसारको क्षेत्रमा काम गर्न पाउनु अनी साहित्यप्रतिको लगावका कारणले त नेपाली पाठकले उनीबाट धेरै कुरा पाउन सकेको छ । सिराइचुलीका बूढापाकाहरूले बचाइराखेको खैजडी भजन संस्कृति हिजोआज पाहुनालाई देखाएर मनोरञ्जन गराउन थालेको जानकारी दिएका छन् । 

यसको अर्थ त्यहाँ खैजडी भजन लोप हुन पाउन्न, पुस्तान्तरण अवश्य हुन्छ । हिजो आज यस्ता कतिपय संस्कृति दुर्लभप्रायः र विस्मृतप्रायः भइसकेको अवस्थामा आय–आर्जनसंग नजोडने हो भने बचेकाहरू पनि समाप्त भएर जानेछन् । पहिलो कुरा मानिस बाँच्नु पर्छ, बाचेका मानिसले हो संस्कृतिको सम्मान गर्ने, आज मानिस बाँच्ने र संस्कृति बचाउने भनेको आगन्तुकमाझ आफ्नो पन देखाएर आय आर्जन गर्नु नै हो— यसको लागि संस्कृतिलाई पर्यटनसँग जोडनु पर्छ । यसमा भएको नियात्रा ‘हुग्दै हुँदै हात्तीबाङ’ र ‘सिराइचुली चुम्दा’ पर्यटन विकासमा साहित्यले प्रचारकको भूमिका राम्ररी निभाउन सक्छको प्रमाण पनि हो जस्तो लागेको छ ।        

“नारपाभूमिको आतिथ्य” मातहतमा रहेको नियात्रा ‘कल्पना परी झरना’को केही अंश मननार्थ रहेकोले पेश गरिन्छ— “तर हामी नबीन पर्यटकीय उपजको कुरै छाडौं, आफैँसँग भएका प्राकृतिक सम्पदालाई सदुपयोग गर्न सकेका छैनौं । न सम्पदा सदुपयोग गर्न सक्ने मावन संसाधन बनाउन सकेका नै छौँ ।” खम्पा चीनसँग आफ्नो बलबुताले नभएर अमेरीकी सहायताको भरमा मच्चिएको थियो, नेपाल सकारले नभएर जब नेपालको भूमि मित्रराष्ट्रविरुद्ध प्रयोग गर्न दिएन तब समाप्त भयो । 

यथार्थ हो फोहरी तिब्बती लुटेरा जसको घिनौना र विभत्स व्यवहारले हिमालपारीका जनता आजित भएका थिए त्यसको छनक ‘खम्पा बिम्व’मा रहेको छ । ‘फुको कथा, फिलिपको व्यथा’ मार्मिक छ । जुन कुरो नहुनु पर्ने थियो त्यो् भएको जानकारी ‘फिलिपलाई वज्रपात’बाट पाइन्छ । किनभने आदर्श सम्बन्ध यसमा छ, हृदय छुन्छ । ‘नारको मेजमानी’ले मन प्रफुल्ल बनाउँछ र आनन्द प्राप्त भएको थाहा हुन्छ । जुन कुराको आवश्यकता जति खेर हुन्छ, सो समयमा प्राप्त हुनुको आनन्द नै अलग । मीठो स्वादको नियात्रा हो ‘पैतालामा हिउँ, आँखामा हिमाल’, किनभने नियात्राकारको खुशी यसमा पाइएको छ ।           
राजेन्द्रमान पर्यटकलाई देशका कुना काप्चामा घुमाउने र त्यहाँको बारेमा जानकारी गराउने पेशा अपनाएका साहित्यकार हुन् । अब “यात्राबीचको यात्रा”मा रहेको दुईओटा नियालाले पनि धेरै कुराको जानकारी दिएको छ । यसमा रहेको ‘आनीसँग कोरोला नाकातिर’को प्रसङ्गले नेपाली हिमाली परिवेश पहिल्याउन सहयोग पु¥याउँछ । यात्रा क्रममा भेट भएकी स्वधी आनीबारे अरू खोजी गर्नुपर्ने आवश्यकता बुझिन्छ । 

अत्यन्त सुन्दर भाषामा हिमालजस्तै पवित्र आनीको चरित्र झल्किएको छ । हो यसरी आउनु पर्छ यथार्थ । तर अझ राम्रो नियात्रा ‘योजनाबिनाको यात्रा’ बन्न पुगेको छ । जीवन सधैं सरल रेखा जस्तै गरी योजना बनाएकै भरमा हिड्ने हो भने चमत्कार भन्ने कुरो नै हुने थिएन । तब जीवन निरस एक रस भएर डोरिएको हुनेथियो । मानिस प्रदर्शन गर्न थाल्छन् किन भने योजना बिनानै जब सफलता प्राप्त हुन्छ, गौरव प्राप्त हुन्छ । यही त हो व्यक्तिको कुशलता र महिमा ।         

‘काठमाडौंको काँठतिर ...’को पहिलो नियात्रा ‘ठिसोङको पुस्तासँग कुन्चेप्वाकलमा’बाट धेरै कुराको जानकारी प्राप्त हुन्छ । ‘बाबाजीसँगको अन्तरङ्ग कुरोकन्थो’मा समाजमा जोगी कसरी बन्दारहेछन्, उनीहरूका मनोस्थीतिको मूल्याङ्कनको यथार्थ अध्ययन विस्तारपूर्वक गरिएको छ, धर्मप्राप्तिको लागि भक्तले भोग्नुपरेको कठिनाइ बारेको पनि प्रसङ्ग आएको छ । ‘शिवपुरीको सैर’ रोचक छ । ‘जामाचोबाट काठमाडौं चियाउँदा’ यसमा दिइएको नागार्जुन लगायतको प्रसङ्गले रोचकता थपेको छ । उपत्यकाको पूर्वतर्फरहेको लामाटार ढुङ्गिनको सम्झना गरिएको ‘लाँकुरीभन्ज्याङको यादमा ....’ खुबै रसिलो छ ।         

आफूले भ्रमण गरेको ठाउँको व्यापक खोजी र परिचयसमेत दिने क्रममा नियात्राकारले विशद चर्चा गरेको ‘पिके पिकको झलक’को ‘आफ्नै दिन, आफ्नै मर्जी’ले अवश्य पाठकबाट माया प्राप्त गर्न सकेको छ । राजेन्द्रमानको यस नियात्रामा सारैनै उपयोगी कुराको खोजी भएको छ । 

कोरोनाको कहरले श्रमशील नेपालीमा के कस्तो प्रभाव पार्यो यस कुराको यस नियात्रामा मूल्याङ्कन गरिएको छ । कोदोको तीनपाने नेपाली संस्कारमा साह्रै महत्वपूर्ण स्थान छ । नेपाली साहित्यको सन्दर्भमा नियात्रा विधाको यो समिक्ष कृतिको खास महत्त्व छ, यस कुरोलाई मान्नु पर्छ । 

थाहा भए अनुसार ‘पिके पिक आरोहण’ शानदार रहेको मान्न सकिन्छ । पदयात्रामा मर्यादाको ठुलो महत्त्व रहन्छ, पदयात्रीको सफलताको ठुलो लक्षण पनि हो । मर्यादाको अभावमा आचरणमा तलमाथी हुनासाथ पदयात्रा पूर्ण नहुन सक्छ । लक्ष्य प्राप्ति गर्नु पदयात्रीको सफलता हो र सफलता मर्यादामा अडेको हुन्छ ।        

‘रुबी भ्याली स्मृतिका कोसेली’मा रहेका नियात्राहरू ‘अन्त्यहीन दृश्य’, ‘तिप्लिङमा तरङ्गिएको मन’ र ‘स्मृतिमा चालीस गाउँ’बाट स्पष्ट हुन्छ सचेत लेखक राजेन्द्रमान डङ्गोलको यो लेखनी नेपाली साहित्यको एउटा महत्वपूर्ण कोशेढुङ्गो हो । यस नियात्रामा खोजपरक विषयहरूको पनि विस्तारपुर्वक वर्णन भएको छ ।        

संग्रहको अन्तिम नियात्रा “टुरिजम फ्याम ट्रिप २०२१” टुरिजम क्षेत्रका एक जना दूरदर्शी अभियन्ता बोधराज भण्डारीको योगदान सम्बन्धी कुराहरू छन् । यसको पहिलो ‘सेल्फीडाँडामा सेल्फी’ मा बीपी राजमार्गको सिन्धुली खण्डका विभिन्न स्थानको वर्णन छ जो आन्तरिक पर्यटकको मन तान्न सक्षम छ । दोस्रो यानी आखिरको नियात्रा ‘माझीगाउँका मनहरू’ एउटा अनमोल नियात्रा बन्न गएको छ । 

भ्रमण गरिरहने राजेन्द्रमानबाट नियात्राका अन्यकृतिहरू पनि अवश्य थपिनेनै यस पुस्तकले अब प्रत्येक सचेत पाठकको घरमा, पुस्तकका ठेलीहरूमा ठडिन पाउनु पर्यो । नियात्राकारको एकनिष्ठ परिश्रमको निम्ति कृतज्ञ पाठकहरूको तर्फबाट यही नै सबभन्दा ठूलो पुरस्कार हुन जानेछ । 

स्मृति–ज्ञानले पछिबाट अतीतसँग नाता गाँस्दछ र कल्पना अनी भावनाको सहायताले अनागत र भविष्यसँग पनि जोडिएर रहेको हुन्छ । यस्तो सीमामा रहन सकेको यो पुस्तक असीम हो । यसमा उजागर भएका कतिपय रहस्यले यो अमर बन्न गएको छ । 

यही यसको सार्थकता हो, अन्यथा यो पनि व्यर्थको बन्ने थियो । आफू पुगेको ठाउँको बारेमा विस्तृत जानकारी प्राप्त गरेर रोचक किसीमले पाठकमाझ राख्नु यो लेखकको मौलीक पन हो । जसलाई उ प्रकृतिको अनुपम देन भन्ने दावी गर्छ त्यो वास्तवमा अनुपम भएकोले नै हो । 

निश्चय नै लेखकको मन नेपालको सभ्यता, संसकार, आत्मीयतामा प्रफुल्ल बन्छ, त्यो यात्रा गर्ने सबैले प्राप्त गर्ने कुरा हो— शब्दमा उतार्ने कला त व्यक्तिगत न हो । डङ्गोलको लगन, उनको पेशाप्रतिको निष्ठा र आचरण । यदि यी कुरा उनीसँग नहुँदो हो त भने यस्तो जगबको कृति पाठकले पाउने थिएनन् । र पाठकलाई ती–ती ठाउँमा जाउँ–जाउँ जस्तो बनाउन सक्ने साँच्चैको क्षमता छ राजेन्द्रमानको लेखनमा ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ