arrow

पोइजन इन्फरमेसन सेन्टरको सेवा स्थानीय तहसम्म : मन्त्री बस्नेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
mohan basnet.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को सेवालाई स्थानीय तहसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । 

त्रिवि शिक्षण अस्पताल, क्लिनिकल फर्माकोलोजी विभागद्वारा आज यहाँ आयोजित ‘पोइजन इन्फरमेसन सेन्टर’ को शुभारम्भ गर्दै उनले शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको बताए ।  

“यो सेन्टरले विष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्न टेलिमेडिसिनकै काम गर्ने छ । शिक्षण अस्पतालले उपलब्ध गराएको सम्पर्क नं सबै वडास्तरमा उपलब्ध गराई तत्काल सेवा सञ्चालन हुन्छ”, मन्त्री बस्नेतले भने । 

कार्यक्रममा डा राकेश घिमिरेले नेपालमा वर्सेनी ६ हजार नौ सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै ती मध्ये १८ देखि २० प्रतिशतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिए । 

कार्यक्रममा डा रामु खरेलले सूचना केन्द्रले धेरै मानिसको ज्यान बचाउन सकिने बताए । केन्द्रका अनुसन्धान तथा नीति सहप्रध्यापक डा प्रदीप ज्ञवालीले मुलुकको भूगोलअनुसार समस्या पहिचान गरी सेवा विस्तार गर्न सकिने बताए । 

शिक्षण अस्पतालको क्लिनिकल फर्माकोलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो । विष सेवन गरेकाको उपचारलाई प्रभावकारी बनाएर उनीहरुको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञहरुमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो । 

त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउने छ । 

विष सेवनपछिको उपचारका विषयमा जानकारी लिनुपरेमा ०१-४५०२०११ मा फोन गर्न सकिने विभागले जनाएको छ । विष सेवन पछिको उपचारका विषयमा जानकारी दिन संस्थागत रुपमा स्थापना गरिएको यो नेपालको पहिलो सेन्टर भएको जनाइएको छ  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ