arrow

कांग्रेस गण्डकी प्रदेशको सम्मेलन पुस ३ र ४ गते

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
Nepali congress gandaki.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रदेश सम्मेलन पुसको ३ र ४ गते गर्ने भएको छ । कांग्रेस प्रदेश कार्यसम्पादन समितिको आज बसेको बैठकले प्रदेश सम्मेलनको मिति तय गरेको हो । सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।

बैठकले सम्मेलन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । पार्टी प्रवक्ता माधवप्रसाद वास्तोला (मधु) का अनुसार महामन्त्री किरणबाबुु श्रेष्ठको संयोजकत्वमा संगठन प्रतिवेदन तयार समिति गठन गरिएको छ । 

यसैगरी अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार समिति गठन गरिएको छ ।

प्रवक्ता बास्तोलाका अनुसार कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक परिचालन समिति, सहमहामन्त्री कोपिला रानाभाटको संयोजकत्वमा स्वागत तथा सत्कार समिति गठन गरिएको छ । 

यस्तै, प्रदेश सदस्य सीता गुरुङको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति र सदस्य अजित क्षेत्रीको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको छ । 

बैठकले मङ्सिर मसान्तसम्ममा गण्डकीका ११ वटै जिल्ला कार्यसमितिले सम्मेलन सम्पन्न गरि प्रतिवेदन प्रदेश समितिमा पठाउन निर्देशन दिइएको छ । 

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीसमेत सहभागी थिए । 

बैठकमा पार्टी सभापति शुक्रराज शर्माले पार्टीका जिम्मेवार व्यक्तिले गर्ने र भन्ने कुरा एकरुपता हुनुपर्ने भन्दै त्यसले मात्रै पार्टी संगठनलाई बलियो बनाउने बताए । 

राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, धार्मिक स्वतन्त्रता, शान्ति एवम् सुशासन जस्ता पार्टीको विरासतको संरक्षण गर्दै पार्टीलाई थप बलियो बनाउन उनले निर्देशन दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले गरेका उपलब्धिलाई पार्टी पंक्तिबाट जनमानसमा पुर्‍याउन नसकिएको भन्दै दुःखेसो पोखे ।  

पार्टीका प्रचार विभाग उपप्रमुख शिरोमणि बरालका अनुसार बैठकमा प्रदेश सभापति शर्माले विभिन्न विभागमा गरिएको मनोनयन सम्बन्धमा जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ