arrow

भूकम्पले उजाडेको जीन्दगीः न गर्भको शिशु रह्यो न श्रीमान् 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
janmuna-budha-magar-earthqu.jpg

जानकी । जमुना बुढामगर भर्खर १९ वर्षकी भइन् । गत शुक्रबार गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छिन् । भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन् । 

जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाको गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ । उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होस पूर्णरूपले फर्किएको छैन । श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उनी अस्पतालको शैयामा छट्पटिरहेकी छिन् । 

जमुना एकसुरमा कहिले राम्रैसित बोल्छिन् भने कतिबेला बोल्दै बोल्दिनन् । निकै कम बोल्छिन् । जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउँछिन् । जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन् ।
 
“छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले ऊ होसमा आएपछि सुनायौँ । उसलाई थाहा छ । तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे”, आमा पवित्राले भनिन्, “एक्लै–एक्लै आफैँसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन ।” भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उनलाई छोरीको चिन्ताले सताइरहेको छ ।

शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको  बुवा भागिरामले बताए । 

“हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ । उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ”, भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिएका उनले भने । जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगन्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो । पेटभित्र मरेको शिशुलाई निकालिएको छ । शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसानघाटमा नै गरिएको बुबा भागिरामले बताए । 

जमुनाको उद्धार गर्न जाजरकोट पुगेका भागीराम र उनकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किको खबर भारगाउँ पुगेपछिमात्र थाहा भयो । “हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ । गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ । त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ भूकम्पले हाम्रो पनि घर चर्किएछ ।” दुवैजना शुक्रबार राति नै जमुनाको घर गएका थिए ।

अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनी हेरचाह गर्न श्रीमान्सँगै आएकी आमा पवित्रा भन्छिन्, “जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ । हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला । अब छोरी चाँडै निको भइदिए हुन्थ्यो ।” 

आमा पवित्राको भनाइअनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ । भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ । जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन् ।  

भेरी अस्पतालमा जाजरकोट भूकम्पका कारण घाइते ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जनालाई ल्याइएको थियो । 

दुई जना निको भई घर फर्किएका छन् भने एक जनाको उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । 

प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ