arrow

लुम्बिनीमा पाइला टेक्ने गुटेरेस छैटौँ राष्ट्र संघका महासचिव

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
antonio-guterres-2080-07-12v.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव ऊ थान्तले प्रचार प्रसार गरेको लुम्बिनीमा हालका महासचिव एन्टोनियो गुटेरेसले बिहान भ्रमण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा महासचिव गुटेरेसले लुम्बिनीको भ्रमण गर्दैछन् । 

गुटेरेस प्रधानमन्त्री दाहालको निमन्त्रणामा आइतबार विहान नेपाल आएका हुन् । गुटेरेसलाई लुम्बिनीमा भव्य स्वागतको तयारी गरिएको छ ।

गुटेरेसलाइ लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती,लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी,कोषका उपाध्यक्ष ल्हारक्याल लामा सहित उच्च पदस्थ अधिकारीहरुले स्वागत गर्नेछन् । गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन् । गुटरेसले लुम्बिनीमा करिब डेढ घण्टा बिताउने भ्रमण तालिका छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको गुटेरेसको लुम्बिनी भ्रमण तालिका अनुसार बिहान ८ः३५ बजे पोखराबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने छन । 

भैरहवाबाट हेलिकोप्टरमा उनी ८ः५० मा लुम्बिनी आइपुग्ने छन्  । ४ नं गेटबाट लुम्बिनी प्रवेश गराएर गुटेरेसलाइ शान्तिदिप लगिने छ । शान्तिदिपबाट पैदलै मायादेवी मन्दिर प्रवेश गर्ने भ्रमण तालिका छ । 

गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक,पुष्करणी पोखरी, अशोक स्तम्भको अवलोकन गरी पिपलको रुखमुनि छोटो स्वागत कार्यक्रम हुनेछ । अशोक अस्तम्भमा दिप बाल्नुका साथै वृक्षरोपण गर्ने कार्यरम रहेको लुम्बिनी विकास कोषले  जनाएको छ ।

नेपाली सेनाले सुरक्षाको प्रबन्ध गरेको छ । कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम छ । त्यसपछि महासचिव गुटेरेसले लुम्बिनी विकास कोषको अतिथि पुस्तिकामा हस्ताक्षर  गर्नेछन् । लगत्तै पत्रकारहरुसंग गुटेरेसले बुद्धजन्मस्थलबाट विश्व शान्तिको सन्देश दिने कार्यक्रम रहेको कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताए ।

नेपालमा ऊ थान्तको समयमा संयुक्त  राष्ट्रसंघको पहलमा सुरु भएको लुम्बिनी अन्तराष्ट्रिय सहयोग  समितिमा संलग्न राष्ट्रहरुको बैठक तथा सम्मेलनको आयोजनाकालागि समेत कोषले गुटेरेससँग आग्रह गर्ने बताइएको छ । 

बृहत्तर लुम्बिनीको विकासमा कोरीयाली प्रोफेसर क्वाक योग हुमले तयार गरेको विश्व शान्ति शहरको परिकल्पनामा आधारित गुरुयोजना समेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघको सहयोग र सदभावका लागि महासचिवको भ्रमण फलदायी हुने विश्वास लिइएको छ । 

सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएका बेला नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पाएको थियो । १९५९ मा ड्यागले लुम्बिनीको भ्रमण गरेको कोषले जनाएको छ । 

ड्यागसहित गुटरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्धजन्मस्थलमा पाइला टेक्ने उपाध्यक्ष लामाले बताए । ड्यागले १९५९ को मार्चमा, उ थान्तले सन् १९६७ को अप्रिलमा,कर्ट वाल्डहिमले सन १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कायरले सन १९८९ को मार्चमा र वान की मुनले सन २००८ मा लुम्बिनीको भ्रमण गरेका थिए । 

विशेषगरी संयुक्त राष्ट्रसंघका महासचिव उ थान्तको लुम्बिनी भ्रमण पछि नै लुम्बिनीको विश्वव्यापी प्रचार र विकासमा चासो सुरु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ