काठमाडौँ । पूर्वी सभ्यताले अतिथिलाई भगवान् सरह मान्दछ । त्यसैले पनि नेपालमा आउने जोकोही विदेशी कूटनीतिक नियोगका अधिकारीहरुलाई भरमग्दूर सम्मान गरिन्छ ।
त्यही सम्मान अहिले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले खाइरहेका छन् । उनलाई आइतबार बिहान १ बजे (खासमा नेपालमा त शनिबारको राति नै हो) स्वागत गर्न परराष्ट्र मन्त्री एनपी साउद नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
सेनाको टुकडीले सलामीसमेत दिएको थियो । त्यसपछि उनी निरन्तर व्यस्त रहे भेटघाटमा । जहाँ गए राम्रो आतिथ्यता ग्रहण गर्न पाएका छन् । किनकि अतिथिलाई नेपालले मान्छ ।
यसभित्रको स्वार्थ पनि छ । त्यो स्वार्थ हो कि नेपालमा शान्ति स्थापना रहिरहोस्, शान्ति प्रक्रिया छिटो टुंगियोस्, जलवायु परिवर्तनको असर नेपाललाई नपरोस्, असर कम गर्नका लागि पीडक राष्ट्रहरुले सहयोग गरुन्, राष्ट्र संघमा नेपालको अधिकार बनोस्, शान्ति सेनामा नेपाली सेनाले देखाइरहेको गौरवको थप सम्मान होस् । आदि इत्यादि ।
धेरै नै आतिथ्यता खाइसकेपछि उनलाई पनि नेपालबारे गम्भीर भएर सोच्न कर लाग्नेछ ।