arrow

न्यायको अपील

नाबालिगलाई युद्धमा होम्ने माओवादीविरुद्ध पूर्वबालसैनिकको आक्रोश

राष्ट्र संघका महासचिव गुटेरेस नेपाल आएको मौकामा न्यायका लागि अपील 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
bahirgamit-janamukti-sena.jpg

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आएको मौकामा माओवादीको सशस्त्र जनयुद्धका पूर्वबालसैनिकहरुले आफूहरुलाई अन्याय भएको गुनासो गरेका छन् । 

उनीहरुले महासचिव गुटेरेससँग न्यायका लागि अपीलसमेत गरेका छन् । आफूहरुलाई अन्याय गरेर संक्रमणकालीन न्यायको विषय टुंग्याउन खोजिएको भन्दै न्यायका लागि उनीहरुले गुटेरेससँग अपील गरेको बालसैन्यका सदस्यहरुले बताएका छन् । 

गुटेरेस  नेपाल आउनुअघि शनिबार बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले काठमाडौँस्थित राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयमार्फत गुटेरेससँग न्यायका लागि अपील गरेको बताए । 

उनले शान्ति प्रक्रियाबाट आफूहरुलाई पूर्णतया बाहिर राखिएकोमा आपत्तिसमेत जनाउँदै यस्तो अपील गरेका छन् । ‘लडाइँमा नाबालिगहरूको प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानून विरुद्धको अपराध हो, र हामी पीडित छौँ, हामी भूतपूर्व बालसैनिकहरू सन् २००६ देखि आजसम्म नेपालको शान्ति प्रक्रियाबाट पूर्णतया बाहिर छौँ । यस निर्मम उपेक्षाबारे संसदमा रहेको सङ्क्रमणकालीन न्याय विधेयकमा पनि कुनै उल्लेख गरेको पाइँदैन, नत संयुक्त राष्ट्रसंघले यस विषयमा सक्रियता देखाएको छ’, पूर्व बालसैन्य विष्टले राष्ट्रसंघीय महासचिवलाई लेखेको अपीलमा भनिएको छ । 

उनले नेपालको शान्ति प्रक्रियामा गुटेरेसले भ्रमणको प्राथमिकता बनाएकोमा खुशी व्यक्त गरेका छन् । 

साथै उनले माओवादी नेताहरूले युद्धको मैदानमा प्रयोग गरेर आफूहरुको जीवन र भावनासँग खेलबाड गरेको आरोप लगाइएको छ । 

अहिले आएर माओवादी नेताहरुले आफ्नो राजनीतिक करियर जोगाउन बाल सैनिकको कुरा उठाउन नचाहनुका साथै जवाफदेहीता पनि नदेखाएको भनिएको छ । 

‘जुन उमेरमा हामी कक्षाकोठामा उपस्थित हुनुपर्दथ्यो, हामीले हिंसा देख्यौँ, शारीरिक र मनोवैज्ञानिक आघात सह्यौं, द्वन्द्वको समयमा अकल्पनीय कठिनाइ सह्यौँ, र सामाजिक सीमान्तीकरणको अनुभव गरिरहेका छौँ’ अपीलमा भनिएको छ । 

विष्टले अपिलमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध बाल सैनिकको प्रयोग र शोषणबारे अदालतमा मुद्दा दायर गरिएको पनि जानकारी गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ