arrow

राष्ट्रसंघ महासचिव गुटेरेस नेपालमा रहँदा साउद र शर्मा विदेशमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
antonio-guterres-np-saud-pr.jpg

काठमाडौँ । नेपालमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कार्तिक १२ देखि १५ गते भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भइरहँदा दुई महत्वपूर्ण निकायका प्रमुख विदेश भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउद कात्तिक ८ गते अमेरिका जाँदैछन् भने अर्को महत्वपूर्ण निकायका प्रमुख प्रधानसेनापति कात्तिक १० गते नै चीन गएर १६ गते स्वदेश फर्कदैछन् । 

गुटेरेसले १४ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको अवस्थामा परराष्ट्रमन्त्री साउद अमेरिका भ्रमणमा रहनेछन् ।  उनी १६ गते मात्रै फर्कने छन् । 

गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई कार्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । गुटेरेसको नेपाल भ्रमण कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । गुटेरेसले कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणका कार्यक्रम मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार नै संघीय संसद् सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसले कार्तिक १४ गते अपरान्ह ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका थिए ।  

महासचिव गुटेरेसको सम्बोधनका क्रममा संसदमा संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी नियोगका प्रमुखलगायत विभिन्न विशिष्ट व्यक्तित्वलाई संसद् सचिवालयले आमन्त्रणका लागि पत्राचार गरेको छ । 

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।

राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको सो सम्बन्धमा पनि कुराकानी हुने समयमा प्रधानसेनापति नै नेपाल नरहने भएका हुन् । 

प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । 

उनी चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दशौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जान लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताएका छन् । 

उनी कात्तिक १६ गते स्वदेश फर्कनेछन् । जबकि राष्ट्रसंघका महासचिव १५ गते नै नेपाल भ्रमण सकाएर फर्कने कार्यक्रम रहेको छ । 

भ्रमणको क्रममा राष्ट्रसंघका महासचिवले अन्नपूर्ण र खुम्बू क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत तय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ