संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसमा शान्ति पदयात्रा
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
489
Shares
काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन डे) का अवसरमा पाँच किमी दूरीको ‘शान्ति पदयात्रा’ गरेको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त पदयात्रा सहिदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः सहिदगेट भएर सोही खेलमैदानमा पुगेर समापन भएको थियो ।
प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीबृन्द, उच्च सैनिक अधिकृतसहित सकल दर्जा, गैरसैनिक व्यक्तिलगायत सो पदयात्रामा सहभागी थिए ।
राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोबर २४ भएकामा त्यस दिन यसपटक नेपालमा बडादसैँ पर्व परेकाले आज ‘युएन–डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा सैनिक मुख्यालयमा आजै ‘युएन डे’ विशेष कार्यक्रमको आयोजना हुँदैछ ।
नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो । नेपाल त्यसबेलादेखि नै संयुक्त राष्ट्रसङ्घका अधिकांश शान्ति अभियानमा सक्रियरुपमा सहभागी हुँदै आएको छ । राष्ट्रसङ्घको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता छ दशकभन्दा बढीको छ । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् ।