arrow

नवरात्र, नवदुर्गा र विजयादशमीको शास्त्रीय महत्व

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २७ शनिबार
tulsi-panthi-2080-06-27.jpg

आश्विन शुक्लपक्ष वैदिक सनातन हिन्दूधर्मावलम्वीहरूको लागि विशेष महत्वको पक्ष मानिन्छ । यस पक्षको प्रतिपदादेखि नवमीसम्मका दिनलाई शारदीय नवरात्र भनिन्छ । यस नवरात्रमा शक्तिस्वरूपा भगवती दुर्गाको आराधनाको ठूलो महिमा रहेको छ ।

यस विषयमा हिन्दू धार्मिक ग्रन्थहरू  दुर्गोत्सवविवेक, दुर्गापूजाप्रयोगतत्व, दुर्गाभक्तितरङ्गिणी, नवरात्रप्रदीप, दुर्गोत्सवपद्दति, दुर्गासप्तशतीका साथै पुराणवाङमयहरूमा नवरात्रमा गरिने दुर्गा आराधनाको विषयमा विस्तृतरूपमा प्रकाश पारिएको छ । 

देवताहरूको तेजबाट देवीको अविर्भाव, देवीको स्वरूप, देवताहरूबाट आयुध प्राप्ति, देवीद्वारा महिषासुर, चण्ड-मुण्ड, शुम्भ-निशुम्भ आदि दानवहरूको वध र विजयप्राप्ति गरेको सम्बन्धमा ती ग्रन्थहरूमा वर्णन गरिएको छ । कलिकापुराण, देवीपुराण र श्रीमद्देवीभागवतमा भगवती दुर्गाको महिमा र आराधनाको विषयमा विस्तृत रूपमा प्रकाश पारिएको छ ।

नवरात्रका प्रतिपदा, सप्तमी, महाअष्टमी र महानवमी विशेष दिन हुन् । यी दिनहरूमा गरिने कार्य र विधिका नियमहरूका विषयमा उपरोक्त ग्रन्थहरूमा प्रकाश पारिएको छ ।
              
प्रतिपदा आश्विन शुक्लपक्षको प्रथम दिन हो । यस दिन देवीका शक्तिपीठहरू, कोतहरू र घर-घरमा घटस्थापना गरी दु्र्गादेवीको आह्वान गरिन्छ । प्रतिपदा निर्णय विषयमा देवीपुराणमा देवीले भन्नु भएको छ – अमावस्यसँग जोडिएको प्रतिपदा तिथिमा मेरो पूजा गर्नु हुँदैन । यसकारण द्वितीयासँग सम्बद्द एक मुहूर्तमात्र भए पनि दोश्रो दिनको प्रतिपदा लिनु पर्दछ । शरद्ऋतुको प्रतिपदा तिथिमा द्वितीया पनि युक्त हुँदा देवीको पूजन गर्नाले अविनाशी फल प्राप्त हुन्छ । 

यदि कसैले अमावस्ययुक्त प्रतिपदामा देवीको स्थापना गर्दछ भने देवीले त्यसलाई हजारौँ श्राप दिनुहुनेछ । द्वितीयाको दिन उदयकालमा दुई मुहूर्तमात्र प्रतिपदा भए पनि प्रातः कालमा देवीको आह्वान गर्नु पर्दछ । प्रातः कालमा नै देवीलाई प्रवेश गराइ प्रातःकालमा नै पूजा गरी प्रातः कालमा नै विसर्जन गर्नुपर्दछ । शरदकालमा देवीको वार्षिक महापूजा उदयकालिक तिथिमा नै गर्नु पर्दछ ।

नवरात्रको प्रतिपदादेखि नवमीसम्म देवीपूजा प्रधान विषय र उपवास आदि त्यसका अङ्ग हुन् । भविष्यपुराण अनुसार अष्टमी र नवमी तिथिमा जगन्माता अम्बिका भगवतीको पूजा गरी शाधक शोकहीन बन्दछ । यसमा पूजाको फल बताएर पूजालाई नै प्रधानता दिइएको छ । 

नवमीतिथिसम्म वृद्दिक्रमले देवीको पूजा आदि गर्नु पर्दछ । तिथि घटेको अवस्थामा एकै दिन आवृत्ति गरी दुवै तिथिको पाठ पूजा सम्पन्न गर्नु पर्दछ । भक्तिपूर्वक पूजा गर्दा यश, राज्य, पुत्र, आयु, धन र सम्पत्ति प्राप्त हुन्छ । कालिकापुराण अनुसार जसले नवरात्रमा दुर्गाको पूजा गर्दैन त्यसमाथि भगवती भैरवी रिसाई त्यसका सबै इच्छालाई खरानी तुल्याउनुहुन्छ ।

भगवती विन्ध्यवासिनीको प्रीतिका लागि नवरात्रमा उपवास, एक पटक भोजन, रात्रिभोजन वा अयाचित भोजन गरी सबैले भगवतीको भक्तिमा लीन भइ तत्परताकासाथ हर्ष पूर्वक प्रत्येक स्थानमा नगर, गाउँ- गाउँ घर-घर एवं प्रत्येक वनमा समेत देवीको आराधना गर्नु पर्दछ ।
          
शुक्लपक्षको प्रतिपदादेखि अथवा षष्ठीदेखि पूजा प्रारम्भ गरेर अयाचित अन्नको भोजन, एक समय भोजन अथवा रात्रिभोजन, भूमिशयन गरी उपवास गर्नु पर्दछ । कुमारीको पूजा गरी तिनलाई भोजन गराउनु पर्दछ ।

दिनदिनै तिनीहरूका निमित्त वस्त्र अलंकार प्रदान गरी सन्तुष्ट तुल्याउनु पर्दछ । दिनदिनै चामल मांस र माषवलि दिनु पर्दछ । ब्राह्मणले मांसवलि दिनु हुँदैन । जप र स्तोत्रपाठमा तल्लिन भइ त्रिकालमा देवी पूजा गर्नु पर्दछ ।

देवीपुराण अनुसार भक्तले उपवास गरी रातको समयमा क्रमैले महिषासूरमर्दिनी भगवतीको पूजा गर्नु पर्दछ । भगवती रात्रिरूपिणी हुन् भने महेश्वर दिनरूपी हुन् । नवरात्रको रात्रिव्रतले सबै पापको नाश र शत्रुको संहार गरी भक्तको सबै कामना परिपूर्ण गराउँदछ । नवरात्रमा रात्रिको महत्व भएका कारण नक्तव्रत पनि भनिन्छ ।

सम्पूर्ण प्रतिपदा नै चित्रानक्षत्र र वैधृतियोगले युक्त भएको खण्डमा सूर्य मध्याह्नमा रहँदा अभिजित् मुहूर्त हुने हुँदा त्यसै मुहूर्तमा नै घटस्थापना गर्नु पर्दछ रात्रिको समयमा गर्नु हुँदैन । 

तिलको तेलद्वारा माङ्गलिक स्नान आदि गरेर देवीको पूजा गर्नु पर्दछ । चोखो माटोले वेदी तयार गरी गहुँका दाना मिसिएका जौँका दाना वेदीमा छर्नु पर्दछ । त्यसपछि विधिपूर्वक मन्त्र उच्चारण गर्दै सुवर्ण चाँदी ताँवो अथवा माटाको कलश स्थापना गर्नु पर्दछ । 

जयन्ती मङ्गलाकाली…….  आदि मन्त्रद्वारा दूध, घ्यू आदिले पूजा र यसै मन्त्रको जप गरी यसैबाट होम गराउनु पर्दछ । उक्त मन्त्रको सट्टा ॐ दुर्गे रक्षिणि रक्षिणि स्वाहा यो नवाक्षरमन्त्रद्वारा पनि होम आदि कर्म गराउन सकिन्छ ।

आश्विनशुक्ल प्रतिपदादेखि महानवमीसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनीति कालरात्री, महागौरी र सिध्दिदात्री नवदुर्गाको पूजा गर्दै दुर्गासप्तसती पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली महालक्ष्मी र महासरस्वतीको विशेष पूजा र आराधना गर्नु पर्दछ । 

दुर्गासप्तसती पाठ गर्दा पुस्तकलाई चौकी वा अन्य आधारमा राखी दिनदिनै एक पाठ बढाउँदै नौ दिनसम्म पाठ गर्नु र गराउनु पर्दछ । यसो गर्दा साधकका मनोकामना पूरा हुन्छन् । हातमा पुस्तक राखी पाठ गर्नाले गरेको पाठ निष्फल हुन्छ ।
       
नवदुर्गामा दुई वर्ष पूरा भएकी र दश वर्ष ननाघेकी अपाङ्गतारहित कन्याहरूको पूजा गर्नुपर्दछ । प्रतिदिन एउटी कन्याको पूजा गर्दा लक्ष्मीप्राप्ति हुन्छ । दिनदिनै एउटी कन्या बढाउँदै कन्याको पूजा गर्दा क्षेमलाभ हुन्छ । 

कुमारीका रूपमा पूजा गरिने कन्याका नामहरू-कुमारिका, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र शुभद्रा हुन् । कन्या पूजा गर्दा दिनदिनै जामा, वस्त्र, गन्ध, पुष्प, अक्षता आदि अर्पण गरी विभिन्न प्रकारका पायस आदि भक्ष्य एवं भोज्य पदार्थद्वारा भोजन गराउनु पर्दछ ।
                  
देवीपुराणको वचन अनुसार दक्षिणतिर मुख फर्किएको दुर्गाको मूर्तिले शुभ फल प्रदान गर्दछ । पूर्वतर्फ मुख फर्किएको दुर्गाको मूर्तिले विजय प्रदान गर्दछ । पश्चिमतिर मुख फर्किएको दुर्गाको मूर्ति नित्यस्थापनाको लागि उत्तम हुन्छ । 

उत्तरतिर फर्काई देवीको मूर्ति स्थापना गर्नु हुँदैन । मूर्ति तयार नभएको अवस्थामा सुवर्ण, चाँदी, माटो, धातु, ढुङ्गा, चित्र, तरवार र त्रिशूलमा देवीको पूजा गर्नु पर्दछ ।
              
नवरात्रको सप्तमी फुलपातीको दिन भएकाले यस दिन बेलपत्र, धानकोगावा, अनार, अदुवाकोबोट, कच्चु, अशोक, केरा, उँखु, जयन्ती आदि नवपत्रिकाहरूको पूजागरी केराको पातमा ब्रह्माणीको, अनारमा रक्तदन्तिकाको, धानमा लक्ष्मीको, अदुवामा दुर्गाको, अशोकमा शोकरहिताको, कच्चुमा कलिकाको, वेलपत्रमा शिवाको, मानवृक्षमा चामुण्डाको र जयन्तीमा कार्तिकीको आह्वान गरी पूजा गरेर दुर्गालाई वलि दिइ दशैँघरमा फूलपाती भित्राउनु पर्दछ ।
           
नवदुर्गाको आठौँ दिनलाई महाष्टमी भनिन्छ । महाष्टमी लिँदा पछिल्लो अष्टमी लिनु पर्दछ । जहिले पनि शरत्कालको महाष्टमी नवमीयुक्त नै पूजाका लागि उपयुक्त हुन्छ । 

यस दिन महाकाली-भद्रकालीको विशेष पूजा अर्चना गरिन्छ । देवीभागवत् अनुसार दक्षप्रजापतिको यज्ञ नाश गर्ने भद्रकाली अष्टमीका दिन उत्पन्न भएकाले यस दिन भद्रकालीको पूजा गर्ने परम्परा रहेको हो । पूजा पश्चात् देवीलाई वलि दिइन्छ ।

नवदुर्गाको नवौँ दिनलाई महानवमी भनिन्छ । आश्विन शुक्लपक्षको अष्टमी मूलनक्षत्रसहित हुन्छ भने त्यसलाई महानवमी भन्दछन् र यो त्रिलोकीमा दुर्लभ योग हो । 

नवमीको दिन विशेषगरी सिध्दिदात्री देवीको विशेष पूजा अर्चना गरी वली दिने गरिन्छ । यसदिन हातहतियार, कलपूर्जा तथा सवारी साधनहरूको पूजा गर्ने प्रचलन पनि छ ।

शरत्कालको नवरात्रपछिको दशमी नै विजयादशमी हो । देवी दुर्गामाताले शुम्भ-निशुम्भ,चण्ड-मुण्ड र महिषासुर दानवहरूको संहार गर्नु भएको थियो ।  

त्रेतायुगमा मर्यादापुरुषोत्तम श्रीरामले नवरात्रका नौ दिनसम्म भगवती दुर्गाको आराधना गरी शक्ति संचय गरेर दशमीका दिन अत्याचारी रावणको संहारका निमित्त विजय अभियान आरम्भ गरी विजय प्राप्त गर्नुभइ असत्यमाथी सत्यको, अधर्ममाथी धर्म र अन्यायमाथी न्यायको विजय भएको थियो । 

हाम्रो हिन्दू परम्परामा भगवती दुर्गादेवीको विजय र श्रीरामको विजय अभियानको महान् दिवसलाई विजयको प्रतिककोरूपमा स्वीकार गरी अपराजिता भगवतीको पूजा गर्ने कृत्यलाई स्वीकार गरेको छ ।

आश्विनशुक्लपक्षमा सायंकालमा थोरै सन्ध्या वितेपछि तारा उदाउने समयमा अथवा तारा केहिमात्र देखिन थालेपछिको समयलाई सबै कार्यमा सिध्दि प्रदान गर्ने विजयकाल भनिन्छ । आश्विनशुक्लपक्षमा सूर्योदयको समयमा यदि दशमी देखिन्छ भने त्यसलाई विद्वानहरूले विजया भन्दछन् ।

विजया दशमीका दिन गाउँको उत्तर-पूर्व दिशामा गई पवित्र ठाउँमा वेदी तयार गरेर गोवरले लिपी त्यसमा भगवती अपराजिताको स्थापना र ध्यान गरी उनको दायाँ र बायाँतर्फ जया र विजयाको आह्वान गर्नु पर्दछ । 

ती शक्तिहरूको षोडशोपचारले पूजा गरेपछि अपराजिता भगवतीको स्तुति, प्रार्थना र पूजा गरी विसर्जन गर्नु पर्दछ । त्यसको केही उत्तर-पूर्वतर्फ गइ शमीको पूजा गरेर गाउँको सीमा नाघ्नु पर्दछ ।

नवरात्रभर देवीको पूजा गरी शुध्द भएको कर्ताले विजयादशमीका दिन अपराजिता भगवतीको पूजा गरेपछि कुनै खास अभियान शुरू गरेमा विजय वा सफलता प्राप्त गर्दछ भन्ने शास्त्रहरूको मान्यता छ ।   
              
विजयादशमीका दिन बिहानको शुभसाइतमा देवीको विसर्जन गरेपछि प्रतिपदाका दिन घटस्थापना गरिराखेको घडाको जलले अभिषेक गरी भगवती देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने गरिन्छ । 

विजयादशमी (वडादशैँ ) हिन्दूहरूको महान् राष्ट्रिय चाड हो । यसलाई नेपालीहरूले हर्षोल्लासका साथ धूमधामसँग मनाउँदछन् । देवी दुर्गाको प्रसाद स्वरूप ठूलावडा र मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने गरिन्छ । 

काठमाडौँ उपत्यका लगायतका ठाउँहरूमा टीका लगाउने प्रचलन कवजाग्रतपूर्णिमासम्म रहेको छ । पश्चिमी जिल्लाहरू गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाहरूमा विजयादशमीका दिनमा मात्र टीका लगाइन्छ । 

गुल्मी र अर्घाखाँची लगायतका जिल्लाहरूमा एकादशीदेखि पूर्णिमासम्म देवीका मन्दिरहरू र कोटहरूमा परम्परागत हतियारहरू ढाल, तरवार, खुकुरी सहित बाजागाजाका साथ सराय नाच गर्ने गरिन्छ । विशेषगरी अर्घाखाँचीको अर्घाकोटमा र धुर्कोटको कोटमा पूर्णिमाका दिन खेलिने सराय नाच त्यस क्षेत्रमा प्रसिद्द छ ।

आश्विनशुक्ल पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिन्छ । यस दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम रहने भएकाले यस पूर्णिमालाई कोजाग्रत भनिएको हो । 

यसदिन देवी लक्ष्मी अवतरित भइ रातभर देवीको पूजा आराधना गरी जाग्राम रहने सबैलाई धन समृध्दिको वर्षा गराउँछिन् भन्ने विश्वास गरिन्छ । (श्रोत सामग्रीः निर्णयसिन्धुः र ग्रन्थहरू)
                 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ