arrow

बीआरएफमा भाग लिन नारायणकाजीको टिम जाने, विद्यालाई बोलाएको चीनले रामचन्द्रलाई चिनेन  

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
narayankaji-shrestha-2080-03-17.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चीनको राजधानी बेइजिङमा आगामी साता हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागीताका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेताहरु सहभागी हुने भएका छन् ।
 
खनालका अतिरिक्त सरकारमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई चीन सरकारले निम्तो दिएपछि उनीहरु त्यहाँ जान लागेको उच्च स्रोतले जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण लगत्तै सरकारमा रहेका कम्युनिष्ट नेताहरुलाई चीनले बीआरएफ सम्मेलनमा बोलाएको हो । सो फोरममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व कसले गर्ने भने लागेको छैन । 

स्रोतका अनुसार मन्त्रीहरुको टोली जाने भएकाले श्रेष्ठको नेतृत्वमा सो सम्मेलनमा जाने संभावना रहेको छ । तर पूर्व प्रधानमन्त्री खनाल भने छुट्टै जाने संभावना रहेको स्रोतले जनायो । 

तेस्रो बीआरएफका लागि चीनले सरकार प्रमुख तहकै सहभागीता चाहेको थियो । तर, एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागीताका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो महिना नै चीन भ्रमण गरेकाले त्यसमा उनको ठाउँमा श्रेष्ठ जान लागेका हुन् । 

२०७६ मा भएको दोस्रो बीआरएफमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई निम्त्याएको चीनले यसपटक राष्ट्रपति रामचन्द्र पौडेललाई निम्तो नै दिएको छैन । 

उपप्रधानमन्त्री श्रेष्ठसहित मन्त्रीद्वय बस्नेत र ज्वालालाई निम्तो प्राप्त भएको छ । ज्वाला प्रधानमन्त्रीको भ्रमण टोलीमा चीन गएर भर्खरै नेपाल आएका हुन् । २०७६ सालमा भएको सम्मेलनले २८३ वटा प्रस्तावलाई अगाडि सारेको थियो । 

त्यतिबेला सरकार तथा राष्ट्र प्रमुखहरुको राउण्ड टेबलले ३८ बुँदे घोषणापत्रसमेत जारी गरेको थियो । ३७ देशका राष्ट्र तथा सरकार प्रमुखहरुको सहभागीता रहेको राउन्ड टेबलमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहेको थियो । राउन्ड टेबलले तीन वटा विषयगत क्षेत्रका ६५ वटा परियोजनालाई समावेश गरिएको थियो ।

जस अन्तर्गत आर्थिक कनेक्टिभिटी अन्तर्गत नेपाल समावेश थियो । इकोनोमिक करिडोर र अन्य उत्प्रेरित परियोजना तथा कनेक्टिभिटीले सहयोग गरिएका परियोजनामा ३५ वटा परियोजना समावेश छन् । 

जसमध्ये नेपालको क्रस बोर्डर रेलवेसहित नेपाल चीन ट्रान्स–हिमालय बहुआयामिक कनेक्टिभिटी सञ्जाल घोषणापत्रमा समावेश भएको थियो । सो कार्यक्रम अहिलेसम्म लागू भएको छैन ।

सन् २०१७ मा आयोजित पहिलो बीआरआई सम्मेलनको दुई दिन अगाडि सहमति पत्रमा हस्ताक्षर गरेर सम्मेलनमा नेपालले सहभागीता जनाएको थियो । सम्मेलनमा नेपालका तर्फबाट तत्कालिन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सहभागीता जनाएका थिए । 

त्यसको दुई वर्षपछि आयोजित सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ