शिक्षा विधेयकमा संशोधनका लागि एनसीई नेपालका सुझाव हस्तान्तरण
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
2.1k
Shares
तस्बिर-फाइल
काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले सार्वजनिक शिक्षाको गुणस्तर सुधार र रुपान्तरणका साथै संविधानको मौलिक हकको सुनिश्चितता हुने गरी विद्यालय शिक्षा विधेयक, २०८० पारित गर्न प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका सचेतकलाई सुझावपत्र दिएको छ ।
अभियानका अध्यक्ष राजेन्द्र पहाडीसहितको टोलीबाट विधेयकमा बालबालिका, युवा तथा प्रौढको शिक्षा, सिकाइ र सुरक्षाको सुनिश्चितता हुने गरी संशोधन गर्न माग गरिएको हो ।
विधेयकलाई दफाबार छलफलका लागि प्रतिनिधिसभाको सम्बन्धित समितिमा पठाइएका बेला शिक्षाक्षेत्रमा कार्यरत नागरिक संस्थाहरुको उक्त सञ्जालले सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, जनता समाजवादी पार्टीका मुख्य सचेतक प्रदीप यादवलाई बेग्लाबेग्लै भेटेर संशोधनका लागि आफ्ना तीन महले सुझावसहित सुझावपत्र बुझाएको छ ।
भेटमा सभामुख घिमिरेले विधेयकलाई संविधानको मर्मअनुरुपको बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्राप्त सुझावलाई मनन गर्ने विश्वास व्यक्त गरेका थिए ।
अभियानले विधेयकबारे विज्ञ र सरोकारवालासँग बृहत् छलफल गरी प्राप्त सुझावका आधारमा संशोधन सुझाव तयार गरेको जनाइएको छ ।