arrow

एरिकाले जोगाइन् नेपालको इज्जत, करातेबाट एसियाली खेलकुदमा पहिलो रजत जित्न सफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
erika-gurung-asiad-silver-2023.jpg

काठमाडौँ । नेपालकी कराते खेलाडी एरिका गुरुङले एसियाली खेलकुदमा नेपाललाई पहिलो रजत पदक दिलाएकी छिन् । नेपालले अहिलेसम्म करातेमा रजत जित्न नसकेका अवस्थामा एरिकाले चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपाललाई करातेबाट पहिलो पटक रजत पदक दिलाएकी हुन् । 

उनी फाइनलमा पुगेर काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० ले पराजित भएसँगै रजतमा समेटिएकी हुन् । यसअघि एरिकाले सेमिफाइनलमा महिला ६८ किलो तौल समूहमा हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । उनले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् ।

यसअघि आजै भएको क्वार्टरफाइनल खेलमा एरिकाले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भइन् । 

एरिका व्यक्तिगततर्फ एसियाली खेलकुदमा रजत पदक जित्ने इतिहासमै दोस्रो खेलाडी भएकी छिन् । यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।

सन् २०१८ मा इन्डोनेसियामा भएको जकार्ता एसियाडमा पाराग्लाइडिङको टिम इभेन्टमा नेपालले रजत पदक जितेको थियो ।

योसँगै नेपालले जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक जितेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।

करातेले नेपालको लागि पदक दिलाएको यो चौथो पटक हो । यसअघि सन् १९९४ मा सीता राईले नेपालको लागि पहिलो कास्य पदक दिलाएकी थिइन् ।

त्यसपछि सन् १९९८ मा बैंककमा समरबहादुर गोलेले र सन् २०१४ को दक्षिण कोरियाको इन्छन एसियाडमा बिमला तामाङले कास्य जितेकी थिइन्।

रजत जितेसँगै एरिकाले आफूले फाइनल हारलाई पाठको रुपमा लिएको भन्दै भविष्यमा अझै मेहनत गर्ने बताइन् । प्रशिक्षक कुशल श्रेष्ठले खेलाडीमा क्षमता रहेको भन्दै भोलिका दिनमा सरकारले अझ बढी हौसला प्रदान गर्ने आशा ब्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ