arrow

प्रचण्डहरुले सोच नबदलेसम्म राम्रा विधेयकहरु पनि निकम्मा हुनेछन् – सांसद शर्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
sunil-sharma-2080-06-19.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले दुई चार जना नेताका कारण नेपालको शिक्षा ध्वस्त भएको आरोप लगाएका छन् । उनले दुई चार जना नेताको सोचमा परिवर्तन नभएसम्म शिक्षाजस्ता जतिसुकै राम्रा विधेयकहरु बनाउन खोजे पनि ती विधेयकहरु निकम्मा भएर जानेसमेत दाबी गरे । 

प्रतिनिधि सभाको विद्यालय शिक्षालाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा बोल्दै सांसद शर्माले नेपालको शिक्षा अस्तव्यस्त पार्नमा शीर्ष नेताहरु दोषी भएको आरोप लगाएका हुन् । 

उनले पूर्व शिक्षक एवं हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगाउने ६५ लाखदेखि दुई करोडको घडी र प्रचण्ड पुत्रीको गुची ब्यागसहितका सम्पत्ति बिक्रीमा राखेर त्यसको पैसाले दूरदराजका विद्यालयमा लगाउनु पर्नेमा पनि जोड दिए । 

वरिष्ठ साहित्यकार एवं वामपन्थी नेता मोदनाथ प्रश्रितको कविता

‘लाला बाला विचल्ली छन् बुकुरा लल्लबिल्ल छन् 
धनीहरु महलमा पल्टिपल्टि डकार्दछन् 
दिनको काम सकेर साँझमा घर फर्कदा
चौपारीको बिसौनामा खेताराहरु सोध्दछन् 
भन्नुहोस् मास्टरजी आज किन यस्तो भो संसार’

वाचन गर्दै सांसद शर्माले देशको शिक्षामा आएको असन्तुलनको कारण बताए । 

संसदमा अगाडि यसो भने उनले, ‘यो देश आजको यो नेपाल कम्युनिष्ट पार्टी माओवादीका कमरेड प्रचण्डले नेतृत्व गरिरहनु भएको देश हो । कमरेड प्रचण्डको इतिहास हामीले कोट्याएर हेर्ने हो भने सभामुख महोदय अहिले हामीले जुन विधेयकमा छलफल गर्दैछौँ उहाँ यो विधेयक आउनु अगाडि नै मास्टर हुनुहुन्थ्यो । उहाँचाहिँ भिमोदय मावी आरुघाटमा पढाउँदै अहिले यो देशको नेतृत्व गर्न आइपुग्नु भएको छ । सभामुख महोदय म एउटा प्रश्न तेस्र्याउन चाहन्छु हिजोअस्ति भर्खर शिक्षक साथीहरु सडकमा हुनुहुन्थ्यो । हजारौँको संख्यामा शिक्षक साथीहरु यो नेपालको सडकमा गाउँबाट आएर माग राखेर लडिरहनु भएको थियो । याद गर्नुस् त । फरक हेर्नुस् त । एउटा शिक्षक जो आज यो देशको प्रधानमन्त्री बन्नु भएको छ । एउटा शिक्षक जसले आज देशको नेतृत्व गर्नुभएको छ र अर्को सँगैको साथी शिक्षक आज आफ्नो जागीर जोगाउनका निम्ति, दुई छाक गाँस, बास र कपासको निम्ति खागीको झोला भिरेर हात्तीछाप चप्पल लगाएर सडकमा छ । तर यो मुलु्कको प्रधानमन्त्री उहाँले लगाउने घडीको मूल्य ६५ लाखदेखि दुई करोडसम्मको छ । हाम्रो समस्या कहाँ हो ? हाम्रो समस्या यहाँनेर हो । राजनीतिक सोच, नेताहरुको सोच, विशेषतः दुई चार जना माथि बस्ने नेताहरुको सोचमा जबसम्म परिवर्तन हुँदैन हाम्रा यी विधेयकहरु जतिसुकै राम्रा बनाउन खोजे पनि ती विधेयकहरु निकम्मा भएर जाने छन् । त्यसकारणले मेरो आग्रह र रिक्वेष्ट के छ भनेदेखि प्रचण्डले लगाउने दुई करोड वा ६५ लाखको घडी र उहाँकी छोरीले गुची ब्यागलाई लिलामीमा राखेर नेपालको दूरदराजको स्कुलहरुमा अहिले टिनका छानाहरु प्वाल परेका छन्, बच्चाहरुले पढ्न पाएका छैनन् सभामुख महोदय म त भर्खर १५ दिन अगाडि मेरो गाउँको स्कुलमा गएर म आएँ । बच्चाहरुले राम्रो गरी एकसरो लुगा, एकसरो ड्रेस लगाएर स्कुल जान पाएको अवस्था छैन । त्यसकारणले हाम्रो नियत सफा हुनुपर्यो । नेतृत्वको नियत सफा हुनुपर्यो । अहिले जनयुद्ध हाँकेर आउनु भएको कमरेड प्रचण्ड उहाँको परिवारको सम्पत्तिलाई उहाँले उदारतापूर्वक छाती ठूलो पारेर बिक्रीमा राखिदिनु भयो र त्यो सम्पत्ति लगेर दूरदराजका स्कुलहरुमा हालिदिनु भयो भनेदेखिन् नेपाली जनताले राम्रोसँग पढ्न पाउँथे ।’  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ