arrow

शान्त बन्यो नेपालगञ्ज, दिउँसोको कर्फ्यु हटाइयो, राति कायमै

logo
सौरभ गिरी, 
प्रकाशित २०८० असोज १८ बिहिबार
nepaljung-road-peace-2080-06-17.jpg
तस्बिर – फाइल ।

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ८ बजेदेखि हटाइएको छ । अब कर्फ्यु  राति मात्र कायम रहनेछ । 

जिल्ला प्रशासन कार्यालय बाँकेले आज विहान एक सूचना जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि जारी गरिएको कर्फ्यु आज बिहान ८ बजेदेखि हटाइएको जनाएको छ । 

राति ८ बजेदेखि बिहान ६ बजेसम्म पूर्ववत रुपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यु आदेश जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । 

दिउँसोको समयमा कफ्र्यु हटे पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । 

हिन्दू र मुस्लिम समुदायबीच भएको विवादले मंगलबार दिउँसोदेखि अशान्त रहेको नेपालगञ्ज तीन दिनपछि शान्त बनेको छ । दुई समुदायबीच बढेको तनावले उग्ररुप लिने अवस्था देखिएपछि कर्फ्यु आदेश जारी गरिएको थियो । 

सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् अर्को दिन ओमकार परिवार हिन्दू समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएकाले कर्फ्यु आदेश जारी गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ