arrow

कमाउ धन्धा

मधेस प्रहरी प्रमुख भट्टराईको काखा रहेका तस्करलाई लाइन खुला, कुन नाकाबाट के को ?

डीआईजी भट्टराई भन्छन् – ‘ती सबै गलत कुरा हुन्, सबै जिल्लाका एसपीलाई सोधे पनि हुन्छ’

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८० असोज १६ मंगलबार
dig-janak-bhattarai.jpg

वीरगञ्ज । मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईमाथि प्रदेशका तस्करहरुसँग साँठगाँठ गरेको आरोप लागेको छ । 

देशको राजधानीसँग सडकमार्गबाट छोटो दूरी भएकोले तस्करहरूको पहिलो रोजाइ पर्सा जिल्ला नै पर्ने भएता पनि पर्सामा कडाइ गरेर पूर्वबाट लाइन चलाउँदा त्यति बदनामी र मिडियाबाजी नहुने अड्कल काटेर डीआईजी भट्टराईले मधेस प्रदेशका पर्सा बाहेक सात वटै जिल्लाका नाका खोलेको दाबी गरिएको छ । 

एक तस्करले बताएअनुसार उनी पर्साबाट चामल र चिनीको लाइन माग्न जाँदा नपाउने तर अन्य जिल्लाको नाकाहरुबाट कपडा, काजु, मसला, दाल, हार्डवेयर र इलेक्ट्रोनिक्सका सामानहरूको खुलेआम लाइन खोलिएको छ ।

तस्करहरुसँग महिनावारी असुल्न मधेस प्रदेश कार्यालयले नै तीन जना प्रहरीलाई प्रदेशभर परिचालन गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार हवल्दार राजेश पटेल, राजेश यादव र देवकुमारलाई प्रदेशभर परिचालन गरिएको हो । 

पर्साका ग्रामीण इलाकाहरुबाट छिटफुट कामहरु भएता पनि बारा जिल्लाको कचोर्वा, सिमरौनगढ, पथलवा घाट, खजानी, वेलदारी, मटिअर्वा, छतवा, मुसहर्वा नाका पूर्णरुपले खुला गरिएको छ । 

त्यस्तै रौतहट जिल्लाको मुख्य भन्सार लक्ष्मीपुर, वन्जारहा, जयनगर औरैया, मढिया मोहेलीया, वंकुल नाका खुला गरिएको छ । 

त्यसैगरी सर्लाही जिल्लाको वलरा, वाराउदोरण, हरनाहा, मधुवनी गाउँ, फेनहारा, मधुवन गोढ, भारसर त्रिभुवन नगर, पारसा, नारायणपुर, गोरखकाली, मधुवन भन्सार संग्रामपुरबाट खुलेआम तस्करी भइरहेको छ ।

महोत्तरीको धीरापुर, बिर्तामोड, सम्सी, मटिहानी, रामगोपालपुर, खैरमणी, इटहर्वा, पोखर भिण्डा रधुनाथपुरबाट लाइन चलिरहेको छ ।

जनकपुरधामबाट जटही नाका, जयनगर, मुखियापट्टि, खजुरी, फुलन्गावा हर्ने हरनाहीबाट व्यापक काजु र कपडाको लाइन चलिरहेको छ । 

सिरहा जिल्लाको माडर, ठान्डी वियापट्टी, सुखिपुर, झाझपट्टी नाकाबाट व्यापक मात्रामा तस्करी भइरहेको छ ।

गत शनिबार बिहान माडर भन्सार कार्यालय नजिकै एक सामुदायिक विद्यालयको बगैँचाबाट ५० लाखको कपडा र चोहर्वा चौक नजिकबाट अन्दाजी ६० लाख बराबरको कपडा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले बरामद गरेपछि सिराहा जिल्लाबाट कुन हदसम्मको सुरक्षाकर्मीहरूको  मिलिभगतमा तस्करी भइरहेको तथ्यलाई पुष्टि गर्दछ ।

सप्तरी जिल्लाको तिलाढी, कोद रकट्टी, क्षुटकी, हनुमान नगर, साठी, सखडा तिलाठ्ठी र पोता नाकाबाट पनि व्यापक मात्रामा तस्करी भइरहेको छ ।

मधेस प्रदेशको नेपाल प्रहरीमा नयाँ नेतृत्व आउने हल्ला चलेसँगै यहाँबाट व्यापक तस्करी भइरहेको प्रहरी स्रोत बताउँछ । 

तर डीआई भट्टराईले भने यस्तो सूचनामा सत्यता नभएको दाबी गरेका छन् । उनले कसैलाई पनि कहीँ परिचालन नगरिएको बताए । 

उनले भने, ‘त्यस्तो चाहिँ केही परिचालन गरिएको छैन । ती सबै जिल्लाको हातमा हुन्छन् । जिल्लाले हेर्ने हुन् । हामीले चाहिँ जिल्लाको एसपीलाई टाइट गर भन्ने हो । सबै जिल्लाले गर्ने हो ।’ 

डीआईजी भट्टराईले थप स्पष्ट पार्दै भने, ‘ती सबै गलत कुरा हुन् । सबै जिल्लाका एसपीलाई सोधे पनि हुन्छ । बुझे पनि हुन्छ । कोही मान्छे यहाँबाट खटिएका पनि छैनन् । जिल्लाकै एसपीहरुले हेर्ने हो गर्ने हो । जिल्लाका एसपीहरुलाई हामीले भनिसकेका छौँ सबै ।’

आफूले सबै जिल्ला हेर्न पनि नसक्ने भन्दै आवश्यकताअनुसार छड्के पठाउने गरेकोसमेत बताए । उनले भने, ‘यहाँबाट मैले आठ जिल्ला हेर्न पनि भ्याइँदैन । हेर्ने जिल्लाका एसपीले हो । एसपीलाई सर्वाधिक अधिकार हुन्छ । हामीले बरु छड्के चाहिँ बेलाबेलामा पठाउने गर्छौँ ।’ 

यता मंगलबार बिहान १ बजे बिलबिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको मालबाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको भन्ने सूचनाको आधारमा वीरगञ्ज १५ ब्रम्हचोकस्थित सडकखण्डबाट ना ६ ख ३३६९ नम्बरको मालबाहक ट्रकलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ । 

बारा जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जिल्लामा कुनै पनि नाका खुला नभएको बताएका छन् ।

उनले पहिले के भयो भन्नुभन्दा पनि आफू आएपछि नाकाहरु पूर्ण रुपमा ठप्प पारेको दाबी गरे ।

उनले भने, ‘म आएको जम्मा तीन हप्ता भएको छ । १० वटा ट्रक समातेर तीन करोड बढीको सामग्री जफत गरेको छु । अहिले कुनै पनि नाका खोल्न दिएको छैन । नाका कुनै पनि खुला छैनन् ।’  

काफ्लेलाई दबाब भने निकै नै आएको पाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ