arrow

माओवादीलाई नाम छोड्न हतार, समाजवादी पार्टी बनाउन अलमल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
samajbadi-morcha-2080-03-04-b.jpg

काठमाडौं । सरकारमै रहेका बेला नेकपा माओवादीले आफ्नो नाम हटाउने कसरत गर्दा उपेन्द्र यादवको जनता समाजवादी पार्टी, एमालेबाट विभाजित भएको नेकपा एस र बाबुरामको समाजवादी पार्टीलाई आफ्नो पार्टीमा ल्याउने उद्देश्य राखेको भए पनि असफल हुने देखिएको छ । 

बाबुराम भट्टराईको समाजवादी पार्टीमा पनि विवाद भएको र नेकपा एसले तत्काल एकता हुननसक्ने सन्देश दिएपछि माओवादीको यो उद्देश्य सफल हुन नसकेको हो । राज्यविरुद्ध विद्रोह गरेको माओवादी केन्द्रको आफ्नो नामप्रति मोह भङ्ग हुने क्रममा पछिल्लो पटक अरू पार्टीलाई आफ्नोमा विलय गराउने कोसिस असफल भएको हो।

‘माओवादी नामप्रति मोह भङ्ग भएको होइन, समाजवादी पार्टी निर्माण गर्दा मुलुकमा बलियो दल स्थापित हुनसक्छ भन्ने धारणा हो’, माओवादीका एक उच्च अधिकारीले भने ।  

माओवादी नामले दस वर्ष सशस्त्र युद्धबाट हलचल र १८ वर्ष शान्तिपूर्ण बाटो लिएपछि नाम फेर्ने तयारी गरेपछि पार्टीभित्र केही नेता कार्यकर्ता भने सन्तुष्ट हुन सकेका छैनन् । बागलुङमा रहेका सचिव देवेन्द्र पौडेलले माओवादीले नाम फेर्न लागेको र फेर्ने कुरा गरेको आफूलाई थाह नभएको बताए । 

‘यो विषय कहाँ बाट आयो मलाई थाह छैन, अपानीमा भएको विषय अर्को पार्टी एकता भएको खण्डमा नाममा केही तलमाथि गर्न सकिन्छ भन्ने हो पार्टीको नाम फेर्ने होइन’, सचिव पौडेलले भने । शान्तिपूर्ण राजनीतिमा आएपछि पाँच आवधिक निर्वाचनमा सहभागी भइसकेकाले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा माओवादी नाम उपयुक्त नभएको भन्दै परिवर्तन गर्न सकिने निर्णय स्रोतको दाबी छ ।

एमाले र माओवादीसँग २०७५ जेठमा पार्टी एकता भएपछि माओवादी नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो । २०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपा पहिले नै दर्ता भइसकेको भन्दै एमाले र माओवादीको एकता खारेज गरिदिएको थियो । भदौ २५ मा पदाधिकारी बैठकले अरू कम्युनिस्ट पार्टीसँग एकता सफल पार्न माओवादी नाममा आगामी महाधिवेशनसम्म नाम फेर्ने निर्णय गरेको छ । माओवादी तीनमहिने अभियानपछि मङ्सिर वा पुसमा विशेष महाधिवेशन गर्ने भएको छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रका बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिनेछ’ पदाधिकारी बैठकको निर्णयमा भनिएको थियो । त्यसलाई नै माओवादीले तल्लो तहसम्म सर्कुलर गरेको थियो । 

पार्टी विधानमा भने मार्क्सवाद–लेनिनवादका साथै माओवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा व्याख्या गरेको छ । ‘मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद हो । पार्टीले आजको समाजमा रहेका वर्गहरूको अस्तित्व, वर्गहरूबीचको अन्तर्विरोध र वर्ग सङ्घर्षलाई समाज विकासको अनिवार्य एवं मुख्य आधार मान्दछ,’ माओवादीको विधानमा भनिएको छ । 

एमालेसँग एकता भएपछि उसले त्यतिबेला माओवाद छाडेको थियो । सर्वोच्चले दुई पार्टी अलग गरेपछि पुनः माओवादलाई अँगालेर विधानमा उल्लेख गर्‍यो । २०५२ फागुनमा सशस्त्र युद्ध सुरु गर्नुअघि तत्कालीन नेकपा एकता केन्द्रले नाम परिवर्तन गरी नेकपा माओवादी गर्‍यो । आमनिर्वाचनअघि माओवादी र पूर्वमाओवादी नेता भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग एकताको तयारी थियो । माओवादी नाम परिवर्तन गरी नेकपा (समाजवादी) नाम राख्ने अनौपचारिक निर्णय भए पनि निर्वाचनको परिणाम आएपछि एकता अवरुद्ध भएको छ । 

अहिले पनि उनलाई लक्षित गरेर नाम फेर्नै प्रस्ताव गरिएको थियो । खासगरी प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी मन्त्री महेन्द्र यादवलाई सम्बोधन गरेर पत्राचार गरेपछि सो पार्टीभित्र विवाद भएको थियो । यादव आएपछि समाजवादी पार्टीको बैठक बसेर त्यसबारेमा निर्णय गर्ने समाजवादी पार्टीका एक नेताले जानकारी दिए । 

‘पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठभित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिन सकिने’ उल्लेख गर्दै यादवलाई सम्बोधन गरेर माओवादी महासचिव देव गुरुङले पत्र पठाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ