- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधनमा दुःख व्यक्त गरेका छन् ।
उनले दिवङ्गत मायालुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र सहयोद्धामा समवेदना प्रकट गरेका छन्।
पूर्वमन्त्री मायालुको फोक्सोको क्यान्सरका कारण गएराति ७३ वर्षको उमेरमा निधन भएको थियो ।
२०७० सालमा उनी एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मा समाहित भई केन्द्रीय सल्लाहकार बनेका थिए ।
माओवादी मर्माहत
नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सल्लाहकार खेमराज भट्ट ‘मायालु’को निधनको खबरले सिङ्गो पार्टी पङ्क्ति मर्माहत भएको जनाएको छ ।
माओवादी केन्द्रका कार्यावहक अध्यक्ष नारायणकाजी श्रेष्ठले आज एक वक्तव्य जारी गर्दै दिवङ्गत मायालुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
मायालुले डडेलधुराबाट बर्दियाको दौलतपुरमा बसाइँ सरी नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका थिए ।
निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय राजनीति गर्दा उनी जेल परे ।
उनले आठ वर्षसम्म जेल जीवन बिताएका थिए ।
नक्खु जेलमा रहँदा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहसँग उनको भेट भयो ।
जेलमा नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई पनि थिए तर उनी रामराजा प्रसाद सिंहसँग प्रभावित भएका थिए ।
विसं २०३२ तिर छापामार युद्धबाट देशमा गणतन्त्र स्थापना गर्न रामराजाप्रसाद सिंहको नेतृत्वमा सक्रिय भए ।
त्यसै सन्दर्भमा सिंहको नेतृत्वमा जनवादी मोर्चा गठन भयो ।
उनी मोर्चाको महासचिव बनेका थिए ।
गणतन्त्र स्थापनका लागि २०४२ सालमा बमकाण्ड जनवादी मोर्चाकै अगुवाइमा भएको थियो ।
तत्पश्चात् गणतन्त्र स्थापनार्थ १४ वर्ष निर्वासन र भूमिगत जीवन बिताए ।
पञ्चायती शासकले उनलाई आजीवन कारावास र सर्वस्वहरणको सजाय सुनाएका थिए ।
विसं २०४६ को जनआन्दोलनबाट पुनस्थापित बहुदलीय व्यवस्थामा उनी पुनः नेपाली कांग्रेस प्रवेश गरे ।
२०५६ सालमा नेपाली कांग्रेसका तर्फबाट बर्दियाबाट प्रतिनिधिसभामा निर्वाचित भए ।
२०५९ सालमा सामान्य प्रशासनमन्त्री बने ।
२०७० सालमा उनी एकीकृत नेकपा (माओवादी) मा समाहित भएका थिए ।
मायालुको ७३ वर्षको उमेरमा गएराति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।
उनी लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित थिए ।
भट्टको जन्म विसं २००७ असार १९ गते डडेलधुराको भागेश्वर गाउँपालिका डुमरीमा भएको थियो ।
उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए । रासस