arrow

 वसन्त सिटौला : केही सम्झनाहरू

logo
मोहन सिटौला
प्रकाशित २०८० असोज ५ शुक्रबार
basanta-sitoula-memory.jpg
तस्बिर :  वसन्त सिटौला

स्तब्ध छु। गहन व्यथित छु। उनको असामयिक मृत्युले आघात पारेको छ – गहिरो।      

वसन्त सिटौला, उमेरमा म भन्दा ३ वर्ष जेठा, साईनोले उनी मेरो भतिज, अग्ला गहुँ गोरा, भव्य व्यक्तित्व, सधैँ हँसिलो !  म वसन्त जी नै भन्थेँ । २०१२/१३ सालदेखि धेरै पछि पछिसम्म तेह्रथुम, खास गरी आठराई र वारि पारी व्यापक नाम चलेका खेलाडीको रूपमा जनमानसले चिन्दथ्यो उनलाई । उनी एक दीर्घ सेवी सम्मानित शिक्षक पनि हुन् । विसं २०२०/२२ सालदेखि उनी साहित्यकारको रूपमा पनि सुपरिचित भए ।

त्यही १३/१४ सालतिर हो क्यार ! चुहाण्डाँडाको घिसिङ्गगाउँमा स्थित उनको ससुराली प्रतिष्ठित भोटु प्रसाईँको घरमा पुराणको साङ्गेको रात..! मैदालीगाउँ र हाम्रो हाट डाँडा, थुम्की , बेतिनी सहितको बिचमा गुरुगुट्टुको च्यालेञ्ज पर्‍यो । गाउँका पाटाको भेग परेकाले आहाले र घिसिङ्गगाउँका पनि उतै लाग्ने भए । प्रसाईँ बाबैको ठुलो टाहारबारीको ठुलो र लामो पुछार पाटालाई खेल मैदान रोजियो । हामी सबै जित्ने उद्देश्यले मैदानमा फालिन लाग्यौँ । रातको जुनको छायामा यसो हेर्दा त पदमलाल सिटौला अर्थात् अग्लामा नाम चलेका द्यौराली नानीका जेठा छोरा यिनै प्रसार्ईं बाका ज्वाइँ वसन्त पो सामेल छन् ए उतापटि !

हाम्रो मतो भो, सजिलै जितिँदैन । हाम्रा सबै तरिकाहरू लगाउनु पर्छ । साधरणतया हाम्रो यो खेलमा गुडुगुट्टु र कपर्दिको मिश्रण हुन्थ्यो । गुटुटुटुटु गर्दै अथवा कपर्दि कपर्दि गर्दै उतापटि गयो मान्छे छोयो भाग्यो । जति जना छोयो उति जना मर्ने अनि हाम्रो पटीको कैदमा बस्ने । अथवा उतापटिकाले समाते भने उतैको कैद हुने । एउटै निकै लामो सासमा छोएर वा नछोएर आफ्नो पटी आइ हाल्नु पर्ने अथवा उताकाले समाए भने कुरै सिद्धियो । म पनि अलि छिटै थिएँ । धेरैजसो छोएरै आउँथे ।

मेरो पालोमा उता फलाक्दै गएर सररर लाम लागेका २/३ जनालाई छोएछु । यता रेखा काटेर आउन खोज्दा त वसन्तका लामा दुई हात पो आँ.... गरिरहेका रहेछन् मलाई समाउन । मेरो पालो त कोल्टे पटी ओह्रालो धस्रा हाने अनि अन्धासुरमा एउटा काँल्लो मुनि हाम फालेर सालिम्मो घारिमा लटपटिंएँ । एउटाले मलाई अलिकति समाए जस्तो गर्‍यो – बँचाउन साथी आएछ भने । लु काका मैले समातेँ पो भन्छ ए वसन्त त ! तर हात मुनिपटिबाट खुस्किएर परतिर सरेँ अनि उनको खुट्टा समाएर कराएँ ! सबै आए । माथि देखिको सिस हेर्दा उनी उनको पटी र म मेरो पटी रहेछु । यत्तिकैमा पुराण घरबाट खबर आयो ज्वाइँ समेत सबै रोटी खान आउनु । भैगो खेल ढिसमिस गरौँ भनेर सबै हाँस्दै रोटी खान गयौँ ।

आआफ्नो उर्लंदो बैँसमा वसन्त (मूलपानी), सूर्य कन्दङ्वा (चुहाणडाँडा), बद्री ‌‌वली (छातेढुङ्गा) सबै छ फुटेहरू भलिबलका नामी र डरलाग्दा झप्पावाल भनी सुविख्यात् थिए । वसन्त फुटबलमा पनि पहिलो नम्बर । ती डाँडा पाखा, वन जङ्गल, देउराली, भञ्ज्याङ, गडी र चुचुरा अनि स्कुलका मैदानहरूमा हामी प्रशस्त सँगसँगै रमाई रमाई घुम्थ्यौँ, खेल्थ्यौंं, खान्थ्यौँ ।

केही पछि काठमाडौँ आइयो—नेपाल । केही लामै समय अध्ययनमा बसियो । वसन्त र हामी केही साथीहरू नयाँ सडकको जनसेवा सिनेमा हलको खाली ठाउँमा २/३ वर्ष नै भलिबल खेल्थ्यौ । त्यहाँ खेल्नेहरूमा तत्कालीन अन्य युवा विद्वान् साहित्यकारहरू पनि केही हुन्थे । 

त्यस बेलामा वसन्तजीको ‘रूपरेखा’ मासिकमा प्रशस्त चलखेल थियो । पूर्वाञ्चल खासगरी तेह्रथुम वारिपारि उनले सो पत्रिकालाई व्यापक बनाइका हुन् । मैले सम्झेसम्म त्यहाँ उनका खास गरी कथाहरू, केही लेख र लोकगीतहरू छापिई रहन्थे ।

त्यसै बेला सायद २०२३ सालतिर होला उनी र म उनका हितैषी मित्र नवीन वा प्रवीण राईलाई हेर्न त्यस बेलाको पुरानै वीर अस्पतालमा  गएका थियौँ । अस्पतालको बेडमा बिरामी अवस्थामा नै भए पनि राई जी बडो हँसिलो र प्रसन्न देखिन कोसिस गर्ने अनि तत्काल हँसाउने तुक्काहरू हाल्थे ।

त्यसै बेलाको युवक सङ्गठनमा उपनिवेश र विस्तारवादका विरोधी राष्ट्रियताका सच्चा हिमायती र कडा राजनैतिक जुझारु जनताको तरफबाट उठेका उम्मेदवार (सायद) मदनकृष्ण श्रेष्ठ (?) जस्तो लाग्छ को विजय जुलुसमा त्यहीँ अस्पताल अगाडिबाट वसन्तजी र मैले सँगै भाग लियौं । कान्तिपथ हुँदै शङ्खर होटेलमा जाने त्यो जुलुस लामो थियो । हामी केही पछि नै थियौँ । तर लैनचौरकै मास्तिरबाटा छेऊ लाजिमपाटको दोबाटोमा हो क्यार उता विपरीत दिशाबाट आएको ट्रकले उनको सिङारिएको मोटरलाई अत्यन्त घातक हानेर क्षत विक्षत बनायो ।  उनको वीर हस्पिटलमा मृत्यु भयो । वसन्तजी र म पनि सो अमर राष्ट्रप्रेमी सङ्खर्षशील जुलुसमा सँगै भाग लिएका थियौँ । त्यहाँदेखि पछाडि नेपाली राष्ट्रियताका कति हिमायतीहरू मारिए ? राजदरबार समेत ध्वस्त भयो । सबै रहस्यको डरलाग्दो खाडलमा पुरिएका छन् अहिले— कुनै सँ।च्चै शक्तिशाली, कर्मठ, नझुक्ने र इमानदार नेपाली नेताको आगमन नभएसम्म....!

वसन्तजीसित फेरि पछि आठराईका मैदानहरूमा खेलबाड, सक्रान्ति बजारमा एक्लै वा समूहमा चियापान र हाँस खेल हुन्थे । साहित्य सङ्गम आठराईमा उनको काठमाडौँसम्मको सक्रियता उल्लेखनीय छ ।

पछिपछि समयसारिणीसित वा अनायासै कताकता कताकता परियो। लामा लामा गोरेटाहरू जीवनका आनन्द र वेदना बोकेर हिँडिँदै गरिए । हिँडिँदै गरिन्छन् । तर हठात् यस्ता मर्माहत घटनाले झल्यास्स पार्दा रहेछन् , पारिरहेका छन् — धेरै दौँतरी, मित्र, मान्य र प्रियजनहरूसित वियोग हुने क्रम चलिरहेको छ । एक्लिई को भाव हुन्छ , विक्षिप्तिन्छु । अनि फेरि विश्व बजार देखा पर्छ र काम कर्तव्यहरू अगाडि ताँती लाग्छन् ....।

होनहार व्यक्ति, सक्रिय, जागरूक प्रिय वसन्त जी ! अहिले यस अवस्थामा नचाहेर पनि बिदाइ दिंदैछु । सम्झनामा साँचिरहुँला ! मेरो हार्दिक हार्दिक श्रद्धाञ्जली ! हामी सबै परिवार ज्यादै दुखित छौँ । तथापि घरभित्रका सबै छोरानाती बुहारी सबैमा धीर र शान्त रहन सक भन्दै यो समवेदना व्यक्त गर्दछु !

मोहन सिटौला

हाल  अस्टिन्  टेक्सस  अमेरिका



नयाँ