arrow

‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ मोहन सिटौलालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
mohan-sitoula-2019.jpg
तस्बिर– फाइल

काठमाडौं । नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङमयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठनमार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने अमर प्राज्ञ अमेरिकामा बसोबास गर्दै आएका प्रा मोहन सिटौलालाई दिने भएको छ । 

प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले सिटौलालाई नेपाली साहित्यसँगै डायस्पोरा साहित्यमा पुर्याएको योगदानको कदर गर्दै सिटौलालाई ताम्रपत्रका साथ दुई लाख रुपैयाँ पुरस्कारसमेत अर्पण गर्ने निर्णय भएको बताएका छन् । 

करिब एक दर्जन पुस्तक प्रकाशित गरेका सिटौलाले नेपाली शिक्षा क्षेत्रमा ठूलो योगदान दिएका छन् । पूर्वमा थुप्रै विद्यालय र क्याम्पस खोल्न अहम् भूमिका खेलेका सिटौलाले साहित्यमा पनि उत्तिकै योगदान दिएका छन् । 

यसैगरी नइ प्रकाशनले समालोचना, कविता, निबन्ध, नाटक, अनुवाद आदि सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउने  भारत असमका छविलाल उपाध्यायलाई ‘नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ दिने निर्णय गरेको छ ।

ताम्रपत्रका साथ यस पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको प्रसाईले जानकारी दिए । यी दुवै पुरस्कार अन्तरार्ष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ठ नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष नइले दिँदै आएको छ । 

नइ प्रकाशनकी अध्यक्ष ईन्दिरा प्रसाईको अध्यक्षतामा बसेको प्रकाशनको बैठकले सो निर्णय गरेको हो । पुरस्कार आगामी असार १८ गते काठमाडौंमा विशेष कार्यक्रम गरी प्रा सिटौला र उपाध्यायलाई दिइने प्रसाईले जानकारी दिए । 

नईले विभिन्न ३० विधामा पुरस्कार प्रदान गर्दै आइरहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ