arrow

सिटौला आमाछोराको पुस्तक एकैपटक विमोचन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
manmaya-kabindra-sitaula-book.jpg

काठमाडौँ। नेपाल पूर्वाञ्चलका प्रसिद्ध शिक्षा सेवी स्व.हरिचरण सिटौलाकी धर्मपत्नी ९२ वर्षिया मनमाया सिटौला र उनीहरूका ५० वर्षका कान्छा छोरा कवीन्द्र सिटौला ‘जिज्ञासु’ का पुस्तकहरू एकै पटक विमोचन भएका छन्। आमा मनमायाको आत्मकथा ‘मैले बिताएको युग’ र छोरा कवीन्द्रको पहिलो कविता सङ्ग्रह ‘हृदयका स्पन्दनहरू’ एकसाथ सार्वजनिक भएका हुन्।

बाल कल्याण आवासीय निजी उच्च माध्यमिक विद्यालय चार पाने झापाका पूर्व प्राचार्य र हाल संरक्षक एवम् हरिचरण सिटौला प्रतिष्ठानका अध्यक्ष विद्वान् राम प्रसाद सिटौलाको सभापतित्वमा असार २५ गते शनिवारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्ष काठमाडौँमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ साहित्यकार प्रा.गङ्गाप्रसाद उप्रेतीलगायतले उपर्युक्त दुवै कृतिको विमोचन गरे।

मन्तव्य दिँदै प्रमुख अतिथि उप्रेतीले मनमायाको कृतिले एक सय वर्ष भन्दा अघिको नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशको लामो जीवन्त तथ्य अभिव्यक्त भएको बताउँदै सो पुस्तक एउटा कालखण्डको अभिलेख भएको उल्लेख गरे। उनले कवीन्द्र सिटौलाको कवित्वको चर्चा गर्दै र बधाई ज्ञापन गर्दै कविता यात्रालाई निरन्तरता दिन आग्रह गरे।

साहित्यकार डा.साधना प्रतीक्षाले ‘मैले बिताएको युग’ को समीक्षात्मक टिप्पणी गर्दै मनमायाको जीवन आफैँमा एउटा कृति भएको उल्लेख गरिन्। उनले भनिन् ‘सिटौलाको यो कृति पढ्नु भनेको हरेकले आफ्नी आमालाई पढ्नु हो।’

कवि, समालोचक, डा.देवी नेपालले कवीन्द्रको कविता कृतिमाथि चर्चा गर्दै उनको कवितामा जीवन जगत्का विभिन्न पाटाहरू अभिव्यक्त भएको बताए। कवीन्द्रको काव्य साधना यात्रा लामै समयदेखि हालसम्म आइरहेको पुरानो निरन्तरता हो। त्यही साधनाको परिणाम अहिले दृश्यमा जीवन जगत्सित यथार्थ र सम्वेदित तादात्म्य राख्दै सो पुस्तक जनसमक्ष प्रस्तुत भएको कुरा उल्लेख गरे।

‘मैले बिताएको युग’ आत्मकथाकी सम्पादक छोरी साहित्यकार राधिका दाहालले आफूले आमाको जीवनका बारेमा सोध्दै डायरी लेख्दै आएको र आज त्यही डायरीले पुस्तकको रूप लिएको बताइन्।

कार्यक्रममा कृतिकार मनमाया सिटौलाले सङ्गिनी र अन्य पूर्वेली लोक भाका गाएर सुनाएकी थिइन् जसमा सहभागी महिलाहरूले नृत्य पनि प्रस्तुत गरेर कार्यक्रमलाई रमाइलो बनाएका थिए। हरिचरण सिटौला प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा स्रष्टा कवीन्द्रकी कान्छी दिदी प्रा.डा.विजया पन्तले स्वागत मन्तव्य गरेकी थिइन् भने कवीन्द्र सिटौलाले आफ्नै कृति र तत्सम्बन्धी पृष्ठभूमिका बारेमा बोल्दै केही कविता अत्यन्त प्रभावकारी पारामा वाचन गरेका थिए।

सो वाचनका क्रममा उनकी धर्मपत्नी रञ्जिता सँगै उभिएर साथ सहयोग दिएकी थिइन् भने पाठ गरिएका केही कवितामा प्रसिद्ध लोक कलाकार उमेश सिटौलाले अत्यन्त सुन्दर, जीवन्त र सफल प्रभावकारितामा पूर्व तयारी विनै तत्क्षण अभिनय गरे।

प्रसिद्ध न्युरो सर्जन डा .वसन्त पन्तले आफन्तको भावमा हाँस्यप्रधान किसिममा पनि प्रस्तुत हुँदै आमा मनमायाको कृति र कवीन्द्रका कविताका बारेमा मीठो टिप्पणी गरेर सभामा नयाँ आकर्षण र मिठास थपेका थिए। सोही अवसरमा प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जगत्प्रसाद उपाध्याय तथा वरिष्ठ साहित्यकार एवम् प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेलले उल्लेखित कृति, कृतिकारहरू र कार्यक्रम सम्बन्धी उच्च मूल्याङ्कन गरेका थिए। स्रष्टा कवीन्द्र र रञ्जिताकी छोरी कृपा सिटौलाले नेपाली आधुनिक गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् जसले सभामा एक कलात्मक मनोरञ्जन पनि भएको थियो। 

सो कार्यक्रममा कवि सुदेश सत्यालले छन्द कविता ’फर्केर आऊ घर‘ पाठ गरेका थिए, जसले सो कार्यक्रम स्वयंको मर्मलाई प्रकाशित पनि गर्‍यो।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै पूर्वाञ्चलका उनै प्रसिद्ध समाजसेवी स्व. हरिचरण सिटौला र  उनकी जेठी धर्मपत्नी स्व.लक्ष्मीदेवी सिटौलाका जेठा छोरा वरिष्ठ साहित्यकार प्रा.मोहन सिटौलाले परिवार—परिवारभित्र सुन्दर साहित्यिक सिर्जना र निस्वार्थ समाज सुधारका चेतना उठाएर समाजलाई ऐना देखाउने काम भइरहेकोमा खुसी व्यक्त गरे। उनले, परिवार मिलेर जनसेवा र सुधारका कार्यहरू गर्दै र गराउँदै युवा पुस्ता सक्रिय भएर अगाडि बढ्नु पर्ने र प्रौढहरूले पनि युवा पिँडीलाई प्रोत्साहन दिनु पर्ने कुरामा प्रकाश पार्दै पुरानो पुस्ताले नयाँ पुस्तालाई दायित्वबोध गराउँदै परिवारदेखि राष्ट्र एवम् विश्व समुदायसम्मको जिम्मेवारी र नयाँपनको पुस्तान्तरण गर्दै जानुपर्ने कार्यमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ