arrow

प्रधानमन्त्रीको चीन भ्रमण: नयाँ र ठोस सहमति हुने सम्भावना न्यून

पुराना सम्झौता कार्यान्वयनमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
prachanda-usa-final-2080-05-30.jpg

काठमाडौं । पुराना सम्झौता कार्यान्वयन नगरेको चीन सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा नयाँ र ठोस सहमति हुने सम्भावना पनि न्यून रहेको छ । परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार  चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री प्रचण्डबीच  दुई पटक भेटवार्ता हुने भए पनि नयाँ सहमति हुने सम्भावना निकै कम रहेको छ ।

भेटघाटको क्रममा नेपालले ६ वटा नाका खोल्न प्रस्ताव गरेको छ भने तीन वटा अहिले खोल्ने र बाँकी पूर्वाधार विकास गरेर छिट्टै सञ्चालन गर्ने चिनियाँ पक्षको प्रस्तावमा सहमति हुने जनाइएको छ । यद्यपि अहिले खुलेका प्रमुख नाकाहरू तातोपानी र केरुङ राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । साथै ती नाकामा बेलाबखत अघोषित नाकाबन्दी नै हुने गरेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डको भ्रमणमा के कस्ता विषयले प्राथमिकता पाउलान् भन्ने कौतुहलता कायमै छ ।

अर्को तर्फ ऊर्जा सम्बद्ध प्राविधिक पक्षको नेतृत्वकर्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रधानमन्त्री भ्रमण दलमा सहभागी नहुँदा ऊर्जासँग सम्बन्धित कुनै सहमति नहुने स्पष्ट भएको छ । चीन भ्रमणमा विद्युत् व्यापार सम्बद्ध महत्त्वपूर्ण कुनै सम्झौता नहुने भएपछि ऊर्जा मन्त्रीलाई भ्रमण दलमा नराखिएको ऊर्जा मन्त्रालयका स्रोतले जनाएको छ  ।  चीन नेपालसँग विद्युत् व्यापार सम्झौता गर्न इच्छुक देखिएको छ, तर नेपाल तत्काल विद्युत् व्यापारको सम्झौता नगर्ने मनस्थितिमा पुगेको हो । खासगरी भारतीय पक्षले चिनिया कम्पनीको लगानीमा उत्पादित नेपालको बिजुली किन्ने विषयमा आनाकानी गरेपछि नेपाल चीनसँग ऊर्जा सम्झौता गर्न हच्किएको हो ।

चीन सरकाले प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई उच्च महत्त्व दिएको भए पनि नेपाल भने सामान्य सम्झौतामा अल्झिएको छ । साथै पुराना सम्झौता कार्यान्वयन गर्ने विषय उठान गर्नेमा पनि नेपालमा अलमलमा देखिएको छ । प्रधानमन्त्री प्रचण्ड र चिनिया राष्टपतिबीचको यसपटक भेटवार्ता बेइजिङमा नभएर एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको सहर हाङ्जाओमा हुने भएको हो । जहाँ द्विपक्षीय वार्ता हुने भएको छ ।  प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट हङकङ ट्रान्जिट हुँदै शनिवार बिहान १० बजे हाङ्जाओ पुगेपछि खानासँगै खाने कार्यक्रम छ त्यसपछि मात्रै उनीहरुबीच भेटघाट हुने देखिएको छ ।

हाङ्जाओमा शनिवार चीनका राष्ट्रपति सीसँग प्रचण्डको लन्च बैठक छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दिउँसो दुई नेताबीच औपचारिक भेटवार्ताको कार्यक्रम रहेको छ ।  त्यहाँ उनले नेपालको समग्र राजनीति र वामपन्थी सरकारको बारेमा नेतृत्व र आफूले गरेका कामको बारेमा व्रिफिङ गर्नेछन् । साथै उनले नेपालको विकास र पूर्वाधारको विषयमा पनि कुराकानी गर्नेछन् । ‘चिनिया राष्ट्रपतिसँग अनौपचारिक कुराकानीको क्रममा नेपालको राजनीति र सरकारको विषयमा कुराकानी हुनेछ । साथै औपचारिक भेटघाटमा दुई देशका प्रतिनिधिसहित विकास र पूर्वाधार निर्माणको विषयमा कुराकानी हुनेछ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

उनका अनुसार पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका कार्य सरकारको उच्च प्राथमिकतामा राखेको छ ।  रारा लगायतका पर्यटकीय स्थलको विकासका लागि सञ्चालन हुने कार्यक्रमका अतिरिक्त प्रदेश तथा स्थानीय तहबाट समेत आ–आफ्ना कार्य क्षेत्रभित्र रही पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका कार्यहरू सञ्चालनमा ल्याउने विषयमा सीमावर्ती शहरको निर्माण जस्ता विषय पनि प्राथमिकताका साथ छलफल हुनेछ ।

नेपालको सामाजिक आर्थिक विकासका लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने छ । भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने छ । नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने¸ दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरू खोल्ने विषय समेत भ्रमणका एजेन्डामा रहेका छन् ।

यसैगरी सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषय समेत प्राथमिकतामा रहनको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै चीन र नेपालबीच नयाँ व्यापारिक नाका खोल्ने विषयमासमेत छलफल हुने बताइएको छ । यद्यपि यी सबै विषयहरू औपचारिक सहमति सम्झौता हुन्छन् कि कुरा मात्रै हुन्छन् भन्नेबारेमा परराष्ट्रकै अधिकारीहरू अनभिज्ञ रहेका छन् । प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी ली छ्याङबीच सोमबार बिहान साढे १० बजे औपचारिक भेटवार्ता हुनेछ । भेटका लागि झन्डै २ घण्टाको समय निर्धारण गरिएको छ । भेटमा विभिन्न सहमति पत्रमा हस्ताक्षर समेत हुने बताइएको छ ।

चिनियाँ सहर हाङ्जाओमा आयोजित १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको यही असोज ६ गते हुने उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट शनिवार बिहान सीधै चीन पुग्दै छन् । हाल प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा छन् । परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री प्रचण्डको भेट हाङ्जाओमा मात्र हुनेछ । 

त्यसपछि प्रचण्ड चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने छन् । बेइजिङमा उनले चिनियाँ समकक्षी ली छिन, राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण एक हप्ता लामो हुने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।  

मन्त्रालयका अनुसार प्रचण्डले बेइजिङका अलावा चोङकिङ सहर र तिब्बतको ल्हासा पनि भ्रमण गर्नेछन्। चोङकिङ महानगरले  कृषि र उद्योगको क्षेत्रमा गरेको विकास र प्रगतिको उनले अवलोकन गर्नेछन् । प्रधानमन्त्रीको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महेन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ