arrow

धान खेतीमा विभिन्न रोगको सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
Dhan kheti.jpg
तस्बिर-फाइल

नेपालगञ्ज । बाँके र बर्दियामा लगाइएको धान खेतीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ ।

बाँकेको डुडुवा गाउँपालिका कम्दीमा लगाइएको धान खेतीमा पात बेरुवा रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले जानकारी दिए ।

उनले धानको पातमा बेरुवाको सङ्क्रमण भएपछि लार्भामार्फत धानको पात बेरेर क्षति पुर्‍याउने उल्लेख गरे ।

यसलाई समयमा नै नियन्त्रण नगरे थप क्षति हुने यादवले बताए ।

बाँकेका अधिकांश ठाउँमा देखिएको गबारो सङ्क्रमण भने पछिल्लो समय नियन्त्रणमा आएको जानकारी दिँदै उनले बैजानाथ सबैभन्दा बढी प्रभावित भएको बताए ।

“यो पानी आएपछि नियन्त्रणमा आउँछ, त्यसैले अहिले गबारोको गम्भीर समस्या देखिँदैन”, उनले भने, “डुडुवा गाउँपालिका कम्दीमा भने बेरुवा रोगको सङ्क्रमण देखिएको छ ।”

यादवका अनुसार यसअघि नेपालगञ्ज उपमहानगर आसपास, डुडुवा लगायतका क्षेत्रमा गबारोको समस्या देखिएको थियो ।

जिल्लास्थित बाली संरक्षण प्रगोगशाला खजुराका प्रमुख उमाशङ्कर पौडेलले बर्दियाको धान खेतीमा खैरे थोप्लो र सेतो झिँगा रोगको समस्या देखिएको जानकारी दिए।

उनका अनुसार जिल्लाको गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र बासगढीमा खैरे थोप्लो र सेतो झिँगाको समस्या देखिएको हो ।

प्रमुख पौडेलले रोग र किराको समस्या देखिएको स्थानमा रोग नियन्त्रणका उपायबारे किसानलाई जानकारी दिइएको बताए ।

उनले बाँकेको बैजनाथमा देखिएको गबारोको समस्या समाधान गर्न विषादीको सिफारिस गरेपछि त्यसको सङ्क्रमण नियन्त्रणमा आएको बताए ।

“धानमा गबारोको समस्या नियमित रुपमा देखिने समस्या हो, तापक्रमको घटबढले देखिन्छ”, पौडेलले भने ।

उनका अनुसार पछिल्लो समय वर्षा भएकाले धान खेतीबाट किसानले लाभ लिने देखिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ