arrow

सुवास नेम्वाङप्रति कांग्रेसको सद्भावः वीपी साहित्य महोत्सव स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
bp-sahaitya-mahotsav-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको आयोजनामा जारी वीपी साहित्य महोत्सव स्थगित भएको छ । संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि महोत्सव स्थगित गरिएको कांग्रेस सहमहामन्त्री एवं महोत्सव तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेले जानकारी दिएका छन् । 

पाण्डेको अध्यक्षतामा बसेको बैठकले कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २ देखि १० मा सम्पन्न बैठकले निर्णय गरे अनुसार जारी वीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको हो । 

गत आइतबारदेखि जारी तीन दिने महोत्सवको आज अन्तिम दिनको कार्यक्रम स्थगित गरिएको हो । 

आजको बैठकले भनेको छ, ‘संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष, शालीन र सुयोग्य राजनीतिज्ञ सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ । बैठकले उहाँको परिवारजन, नेकपा (एमाले) पार्टी र शोकाकुल सबैमा गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।’

त्यस्तै बैठकले भनेको छ, ‘संविधान सभाका अध्यक्षप्रति उच्च सम्मान प्रकट गर्दै आज भाद्र २६ का लागि निर्धारित “वीपी साहित्य महोत्सव—२०८०” का तेस्रो र अन्तिम दिनको सम्पूर्ण कार्यक्रमहरु स्थगन गर्ने निर्णय गरेको छ ।’

तीन निर्णय गर्दै कांग्रेस बैठकको अन्तिम निर्णयमा भनिएको छ, ‘स्व नेम्बाङको आत्माको शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेर बैठक सम्पन्न भएको छ ।’

कांग्रेसले पहिलो पटक वीपी साहित्य महोत्सव आयोजना गरेको हो । विविध कार्यक्रम अन्तर्गत विभिन्न दलका नेताहरुसमेत बोलाएर वीपीलाई केन्द्रमा राखेर छलफलसमेत चलाइएको थियो । 

अन्य दलका नेताहरुलेसमेत यस्तो कार्यक्रम हरेक वर्ष गर्नुपर्ने र अन्य दललेसमेत चलाउनु पर्ने बताएका छन् । 

नेम्वाङको गएराति हृदयाघाटका कारण निधन भएको थियो । उनको बुधबार उनका दुवै छोराहरु आइसकेपछि अन्तिम संस्कार गरिने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ