arrow

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै देशको नेतृत्व गर्ने संकल्प गर्नुपर्छ: प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
prachanda-33.jpg

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता कर्मचार्य जीवनभर वर्ग, विचार र क्रान्तिप्रति इमानदार, निष्ठावान र सरल व्यक्तित्वका रूपमा स्थापित रहेको स्मरण गर्दै प्रचण्डले आफू जनयुद्धको तयारीका क्रममा करिब छ वर्ष कर्मचार्यको संरक्षणमा बसेको र जनयुद्धका विषयमा उनीसँग नियमित छलफल हुने गरेको बताए।

कम्युनिष्ट आन्दोलन सधैँ एकताबद्ध हुनुपर्छ भन्ने पक्षमा कर्मचार्य दृढ रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘कमरेड नरबहादुर कर्मचार्यले मनपर्ने नेता को भन्दा ’प्रचण्ड’ भन्नुभएको थियो, त्यो सामान्य भनाइ थिएन, त्यसभित्र ठूलो विचार र भावना थियो।’ प्रथम कम्युनिष्ट महासचिव पुष्पलाल श्रेष्ठको विचार इतिहासले सही सावित गरिसकेको बताउँदै उनले वर्तमान परिस्थितिमा कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको उल्लेख गरे।

पुष्पलाल र नरबहादुर कर्मचार्यजस्ता नेताहरूको स्मरण गर्दै आन्दोलनलाई पुनर्जीवित गर्ने र देशको नेतृत्व गर्ने संकल्प लिनुपर्ने बेला आएको उनको भनाइ छ। श्रद्धाञ्जलि कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिष्ट आन्दोलनको पुनर्गठन तथा निरंकुश प्रवृत्तिविरुद्ध संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ