arrow

खोलामा पुल नहुँदा ३५ गाउँका स्थानीयलाई लाप्का कै भर 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० भदौ ६ बुधबार
mugu-river-lakpa.jpg

मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं १० तल्लेख की माया बुढा विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँदा जाँदा गमगाढ खोला तर्नका लागी खोला माथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै खोला तर्ने गर्छिन् । नगरपालिका कै वडा नं १ श्रीनगर गाउँमा रहेको मीन माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा सपना मल्ल र महाकाली नमुना माध्यमिक विद्यालय कक्षा ८ अध्ययनरत छात्र मुस्कान मल्ल आफ्नो घरबाट विद्यालय जाँदा गमगाढ खोला माथिका दुई लाप्का भएर जानु पर्ने भएकाले सधैँ विद्यालय जाँदा र घर फर्कँदा डराउँदै खोला तर्ने गरेको सुनाउँछन् ।

 मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं १ डोल्फु गाउँका छिरिङ आग्मु लामा उक्त खोला तर्दा काठका लाप्का हल्लिएर रिँगटा लाग्दा खोला किनारमा खसेको सम्झँदै भन्छिन् सदरमुकामबाट यार्सा पाटनमा जाँदा चाहिने औषधी, लत्ता कपडा र खानेकुरा किनेर घर जाँदै थिए खोलामा खसे भारी बगायो म बचे । 

यी त केही प्रतिनिधि पात्र मात्र हुन जिल्ला सदरमुकाम जाँदा र फर्कँदा बाटोमा पर्ने गमगाढ खोलाको अल्कासाघु भन्ने स्थानमा पक्की पुल नहुँदा सिंगो मुगुम कार्मारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाका १९ गाउँका स्थानीयहरूले सधैँ केही न केही सास्ती भोग्दै आएका छन् । हिउँदमा खोला सानो हुने हुँदा काठको लाप्का तर्न कोही डराउँदैनन् जब बर्खा सिजन शुरु हुन्छ तब उर्लँदो भेलमा कति खेर खसिन्छ भनेर मानिसहरू डराई डराई खोला तर्ने गदै आएका छन् ।

तन्नेरी युवा युवतीहरू भन्दा जेष्ठ नागरिक, बालबालिका, महिला, बिरामी र विद्यालय जाने बालबालिका बढी समस्यामा पदै आएका छन् । जेष्ठ नागरिकलाई लाप्को तर्दा रिँगटा लाग्ने र बुढ्यौलीमा शरीर कमजोर हुने भएकाले खोला तर्न गाह्रो हुने गरेको छ । कति चोटि आफुले कयौँ जेष्ठ नागरिक, बच्चा बोकेका महिलाहरूलाई हात समाएर खोला तारेको घाट गाउँका स्थानीय रमेश मल्लले सुनाए । 

 छायाँनाथ रारा नगरपालिका वडा नं १ मा रहेको मीन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आकाशमा कालो बादल आउन साथ बिदा मागेर घर जान हतार गर्ने गरेको उक्त विद्यालयका शिक्षिका शिवलक्ष्मी मल्ल बताउँछिन् । बाढी आएर खोला तर्न कठिन हुने भएकाले पानी पर्नु भन्दा पहिल्यै खोला तरिसक्नका लागी पढाई बीच मै छोडेर विद्यार्थीहरू घर जान हतार गर्ने गरेका रहेछन् । पुल नहुँदा त्यही खोला तरेर आउने विद्यार्थीहरूको पढाइमा समेत असर गरेको पनि शिक्षिका मल्ल बताइन् ।

गमगढी– नाक्चे लाग्ना सडक गमगढी बजारबाट १८ किमी मुगुम कार्मारोङ्ग ९ छाईलको सुलसुले भिरसम्म पुगे पनि यो खोलामा पुल नहुँदा र खोला ठुलो भएकाले गाडीले खोला तर्न नसक्ने भएकोले बिरामीहरूलाई बोकेर जिल्ला अस्पताल तथा सदरमुकामसम्म पनि ल्याउन कठिन हुने गरेको छ । खोलामा पुल भइदिएको भए सडकमा सवारी साधनहरू नियमित हुन्थे बिरामीलाई समय मै जिल्ला अस्पताल र हवाई मार्ग भएर सुविधा सम्पन्न अस्पतालमा लिन सहज हुने थियो । अहिले पुल नभए कै कारण यो सडकमा यातायातका साधन चलेका छैनन् । मानिसहरूलाई आवत जावतमा समस्या भोग्नु परेको छ । लुम्स गाउँका स्थानीय कम्बर ऐडी भन्छन् सडक छ सहज छैन । 

विगत वर्षहरूमा गमगाढ खोलामा पानीको बहाव बढेमा र बाढी आएमा मानिसहरू चाटया बगर र हाडढुन्गा भन्ने स्थानमा रहेका झोलुङ्गे पुलको वैकल्पिक बाटो भएर खोला तर्ने गर्थे तर २०७९ साल असोज १७ देखि २३ गतेसम्म परेको एक हप्ते पानीले गमगाढ खोलामा बाढी आएर ती दुवै पुल बगाएपछि मानिसहरूलाई खोला तर्ने अन्य कुनै विकल्पहरू नहुँदा बाध्य भएर जति समस्या आए पनि खोला तर्नु पर्ने भएको हो ।

 मुगुम कार्मारोग गाउँपालिकाका ९ वडाका १६ गाउँ छाईल, पाँपु, चिमाथ, मह, मागी्र, सेरोग, किमी्र, ताखा, खारी, दाउरा पुअ, कार्ति, चितै, रिउस, डोल्फु, वाङ्गरी र छायाँनाथ रारा नगरपालिकाका वडा नं १०, ११ र १२ का १९ गाउँ घाट, चराप, गाडापानी, झाकोट, घट्टलेख, चउठेधारा, ल्वारपोल्ना, तल्लेख, जिउला, रोवा, लुवाबान्ना, सालिम, ¥याङ्गच्याकाटी, सोवा, बालचौर, भटडाडी, भिताड, लुम्स, कम्फा का स्थानीयहरू यही सडक तथा खोला भएर जिल्ला सदरमुकाम गमगढी, कणाली राजमार्ग र रारा एअरपोट आवत जावत गर्ने छन् । 

सडक सुचारु हुन पुल नहुँदा यी बस्तीका स्थानीयहरू आफ्नो गन्तव्यमा समय मै पुग्न सकिरहेका छैनन् । जसले बनाए पनि अल्कासाँघुमा छिटो पुल बनाउनु पर्ने स्थानीय प्रताप मल्ल भन्छन् ठेक्का मात्र खोल्ने काम कहिले शुरु गर्ने ठेकदारले काम ओघटने जनताले दुख कहिलेसम्म पाउने सडक कार्यालयले ताखेता लगाएर पुल बनाउने काम छिटो अघि बढाउन आग्रह गर्दछु ।

सडक नियमित र सुचारु नहुँदा मानिसहरूले मात्र सास्ती पाएका छैनन् ३५ गाँउहरुमा हुने विकास निर्माणका लागी बाहिरबाट ल्याउनु पर्ने निर्माण सामाग्रीहरू समय मै नपुग्दा र ढुवानीको लागत बढ्दा विकास योजनाहरू पनि प्रभावित हुने गरेका छन् ।

यो खोलामा छायानाथ रारा नगरपालिकाले प्रत्येक बर्खामा काठको साँघु हाल्दै आए पनि बाढीले सधैँ साँघु बगाउँदै लग्ने गरेको छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्य मल्लले बताइन् । यो वर्ष पनि नगरपालिकाले काठको साँघु बनाउन ४ लाख छुटाएर काम शुरु गरि सकेको उपप्रमुख मल्लले जानकारी गराइन् । 

उनले भनिन् नगरपालिकाको त्यो ठाउँमा स्थायी झोलुङ्गे पुल राख्ने योजना थियो तर यही खोलामा सडक डिभिजन कार्यालय जुम्लाले गाडी गुड्ने स्थायी पुलको ठेक्का खोली सकेको बताएकाले दोहोरो खर्च नहोस् भनेर पुल नबनाएका हौ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ