arrow

आईसीटी अवार्डको अनलाइन नोमिनेसन भदौ १५ सम्म

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
ICT Award 2023 deadline.jpeg

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको आठौँ संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिने भएको छ । 

लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने ‘आईसीटी अवार्ड’ मा यस वर्ष १३ विधासहित सातै प्रदेशका स्टर्टाअपहरुलाई सम्मान गर्ने गरी आवेदन खुला गरिएको हो । 

यस वर्ष आईटी प्रोफेसनलहरुलाई लक्षित गरेर प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३ विधा थप गरिएको छ । अवार्डमा स्टार्टअप तथा इनोभेसन सम्बन्धी विधाहरुमा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड विधाहरु रहेका छन् । 

यसैगरी व्यत्तिगत उपलब्धिको आधारमा प्रदान गरिने विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा र वुमन आइकन आईसीटी अवार्ड विधाहरु समावेश छन् । 

डिजिटल रुपान्तरणमा अभ्यासरत संस्थाहरुलाई प्रदान गर्ने अवार्ड विधाहरुमा डिजिटल एजुकेसन पब्लिक र प्राइभेट सेक्टर, डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२३ रहेका छन् । 

त्यसैगरी सार्क देशहरुका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२३ विधामा पनि नोमिनेसन खुला जारी छ । 

सन् २०१६ बाट शुरु भएको आईसीटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । 

यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन’ पनि शुरु गरेको छ । 

सातै प्रदेश र काठमाडौँमा प्रि–इभेन्टको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि सञ्चालन हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । 

यसैगरी स्टार्टअप, आइडिया र इनोभेसनको पिचिङसहित छनोट प्रकृयालाई कान्तिपुर टेलिभिजनमार्फत पनि विशेष एपिसोड प्रशारण गरिने आयोजकले जनाएको छ । 

आईसीटी अवार्डको छनोट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ । 

भदौ तेस्रो हप्तादेखि सञ्चालन हुने अवार्डको छनोट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन् । 

जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरुसहित १४ जना विज्ञ रहेका छन् भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यक्तिहरु रहेका छन् । 

साउथ एसिया स्टार्टअप अवार्डको लागि भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका देशहरुबाट विज्ञ जुरी समितिमार्फत छनोट प्रकृया सञ्चालन गरिने छ । 


आवेदन दर्ताको लागि आधिकारिक वेबसाइटमार्फत विवरण बुझाउन सकिने आयोजकले जनाएको छ ।

आफू स्वयं वा अन्य कसैले सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाको सम्पूर्ण विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिनेछ । 

स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इनोभेसन विधाको लागि भदौ १५ र अन्यको लागि भदौ ३१ गतेसम्म नोमिनेसन बुझाउन सकिने आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 


यी हुन् आईसीटी अवार्ड २०२३ का १३ विधाहरु 
१, स्टार्टअप आईसीटी अवार्ड 
आईटी प्रडक्ट, सर्भिस तथा इनोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् । 

२, प्रडक्ट आईसीटी अवार्ड 
आईसीटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह  वा व्यक्तिले विकास गरेको आईटी तथा इनोभेटिभ प्रडक्टलाई नोमिनेसन दर्ता गराउन सकिनेछ । 

वि।स २०७९ सालमा सार्वजनिक भएका आईटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेसन दर्ता गर्न सकिन्छ । 

३, राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड 
राइजिङ स्टार इनोभेसन आईसीटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाहरुको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इनोभेसन तथा प्रडक्टहरूलाई लिएर नोमिनेसन दर्ता गर्न सकिनेछ । 
४, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड 
यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड विधामा आईसीटी क्षेत्रसँग सम्बन्धित रहेर कम्तीमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदान, विशेष कामको आधारमा आईसीटी प्रोफेसनलहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन् । 

५, पायोनियर आईसीटी अवार्ड 
यो अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाई प्रदान गरिन्छ । यस विधामा नोमिनेसन दर्ता गर्न यस क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव आवश्यक पर्दछ । 

६, नेपाली डायस्पोरा आईसीटी अवार्ड 
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आईसीटीको माध्यमबाट देश र यस क्षेत्रमा पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेशन दर्ता गर्न सकिने छ । 

७, आन्टरप्रेनर आईसीटी अवार्ड 
आन्टरप्रेनर आईसीटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । 

नोमिनेशनको लागि आईसीटी उद्यमीको रुपमा कम्तीमा ७ वर्षको अनुभव आवश्यक रहेको छ । 

८, वुमन आइकन आईसीटी अवार्ड 
वुमन आइकन आईसीटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आईसीटीको क्षेत्रमा उदाहरणीय काम गरेका महिलाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

९, डिजिटल एजुकेशन आईसीटी अवार्ड (पल्लिक सेक्टर)
डिजिटल एजुकेशन आईसीटी अवार्ड, आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

१०, डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर)
डिजिटल एजुकेसन आईसीटी अवार्ड आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइ तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका निजी शैक्षिक संस्थाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।

११, डिजिटल गभर्नेन्स आईसीटी अवार्ड 
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी संस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् । 

१२, डिजिटल सर्भिसेस आईसीटी अवार्ड
यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइनमार्फत सेवा दिइरहेका कम्पनीहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् । यस विधामा आईटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरूले सहभागीता जनाउन सक्नेछन् । 

१३, साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड
यस विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरुले सहभागीता जनाउन सक्नेछन् । पाँच वर्षसम्मका स्टार्टअपहरुले यस विधामा नोमिनेसन दर्ता गर्न सकिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ