तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
820
Shares
काठमाडौँ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ ।
जसका कारण आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै शनिवारदेखि सोमबारसम्म देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, सहरी क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ ।
भोलि आइतबार पनि देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यसै गरी साउन २९ गते सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोसी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनमा उल्लेख छ।