arrow

गमगढी बजार पुग्न अब २३० सिँढी चढ्न पर्ने

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० साउन १८ बिहिबार
mugu-gadi.JPG

मुगु । मुगु जिल्ला सदरमुकाम गमगढी बजार पुग्न २३० सिँढी बनाइएको छ । सङ्घीय सरकार मातहतको सघन शहरी विकास कार्यालय जुम्लाले मुगु जिल्ला सदरमुकाम गमगढी बजार जाँदा प्रयोग गर्नका लागी रेलिङ सहित २३० सिँढीहरु बनाएको हो ।

छायानाथ रारा नगरपालिका वडा नं १ मेलारुख देखि सत्य मल्लको घरसम्म रहेको पुरानो ठाडो उकालो गोरेटो बाटोलाई सुधार गरेर मानिसहरूलाई बजार पुग्न सजिलो होस भनेर सघन शहरी विकास कार्यालयले सिँढीहरु बनाएको थियो ।

यो सिँढी बनेपछि गमगढी बजारका दक्षिण तिर रहेका श्रीनगर,भामवाडा,चैन,बालै,घुईर,माथि घुईर,पिना,कोटिल्ला,मन्दु,जुक्यान,घट्लेख,तल्लेख गाउँका स्थानीयहरूलाई गमगढी-बालै-पिना सडकको मूलबाटोबाट बजार जान सजिलो भएको छ । पहिला घुमाउरो बाटो भएर बजार जाँदा मूल सडकबाट १५ देखि २० मिनेटसम्म लाग्ने गर्थ्यो अब सिँढीबाट जाँदा बढीमा ५ मिनेट लाग्ने गरेको स्थानीय उपर बहादुर मल्लले बताए ।

पुरानो गोरेटो त्यो पनि भिरमा हुँदा कयौँ पटक मानिसहरू लडेको र मुख्य गरि महिला,बालबालिका र जेष्ठ नागरिकहरू छोटो बाटो भएर बजार जाँदा र घर फर्कँदा सोही बाटो प्रयोग गर्ने भएकाले उनीहरू जोखिम मोलेर हिँड्ने गर्दथे अब सिँढी र भिर तिर रेलिङ बनाएकाले धेरै सहज भएको श्रीनगर गाउँका स्थानीय तथा निमार्ण उपभोक्ता समितिका अध्यक्ष जर्मकला नेपालीले बताए । उनका अनुसार सघन शहरी विकास कार्यालय जुम्लाको ४७ लाख आर्थिक लगानीमा रेलिङ सहितको सिँढी बाटो सम्पन्न भएको हो ।

स्थानीयहरूलाई बजारमा जान मात्र होइन खानेपानीको अभाव भइरहने गमगढी बजारका बासिन्दाहरूलाई खानेपानी ल्याउन,नुहाउन र लुगा धुन नजिकै रहेको हुलुम खोला र चैन खोलामा जान पनि सहज भएको छ । 

जिल्ला सदरमुकाम अग्लो डाँडोमा रहेको र वरिपरि बस्ती भरहेकाले बजारमा जान आउन यस्ता खालका संरचना बनाउँदा छिटो छरितो र समय मै मानिसहरूका बजारजन्य काम सम्पन्न हुने गर्दछन् । 

सघन शहरीले ठिनी तिरबाट,चैन तिरबाट र सशस्त्र क्याम्प तिरबाट पनि बजार प्रवेशका लागी यस्ता खालका रेलिङ सहितका सिँढी बनाउन आवश्यक रहेको र सोही अनुसारका योजना आगामी वर्षमा नगरपालिकाबाट सघन शहरी विकास कार्यालयसँग माग गरिने छायाँनाथ रारा नगरपालिका का उपप्रमुख ऐश्वर्या मल्लले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ