arrow

गाउँमा बत्ती बलेपछि

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० साउन १८ बिहिबार
batti-mugu.JPG

मुगु । सोरु गाउँपालिका–१ जवलधारा र गहताडी गाउँमा बत्ती बले पछि यहाँका स्थानीयहरूमा खुसी छाएको छ । बत्ती बल्दा गाउँका पुरुषहरू भन्दा महिलाहरूमा धेरै खुशी छाएको पाइएको छ । बत्तीबाट महिलाहरू बढी लाभान्वित हुने भएकाले उनीहरू बढी खुशी देखिएका हुन् ।

भान्सा,चुलो चौको,सरसफाइ देखि वनजंगलबाट दाउरा,दियालो ल्याउने काममा महिलाहरू बढी सरिक हुने गर्दछन् । बत्ती बलेपछि यी काममा सहजता र कामको बोझ घटने भएपछि गाउँका महिलाहरू खुशी भएका हुन ।

जवलधारा गाउँकी स्थानीय झपु मल्ल भन्छिन् घरमा दाउरा र दियालोको प्रयोगले परिवारका लुगा छिटै मैला हुन्थे,भाँडाकुँडा काला हुन्थे अब बत्ती बलेपछि खाना बनाउन प्रयोग हुने दाउराको खपत कम हुने घरमा उज्यालो गर्न दियालोको प्रयोग घटने र धुवा कम हुने भएपछि आफूहरूको आधा काम कम हुने बताउँछिन् । उनी भन्छिन् हामी धुवाले जति राम्रा र सफा सुग्घर गरे पनि मैला देखिन्थ्यौ अब राम्रो र चिटिक्क देखिने भयौ ।

सोही गाउँ की जालगेडी मल्ल पनि गाउँमा बिजुली बत्ती बलेपछि असाध्यै खुशी भएकी छन् । उनी भन्छिन् बत्ती नहुँदा घरको काम गर्दा असहज हुने,छोरा छोरीलाई पढाई लेखाई गर्न गाह्रो हुने र घरका प्रायलाई श्वास प्रश्वासका साथै स्वास्थ्यका अन्य समस्या देखा पर्ने गरेको थियो यी सबै समस्या बत्ती आएपछि हट्ने विश्वास लिएको र आफूहरूको कार्यबोज घट्नुका साथै आराम गर्ने फुर्सद मिल्ने मिल्ने आश पलाएको छ ।

पानीको श्रोत नै नभएका यी बस्तीहरूमा जलविद्युतबाट गाउँ झिलिमिली भएपछि सबै हर्षित देखिएका छन् । विद्यालयमा पढ्ने आफ्ना बालबालिका विद्यालयबाट घर आए घरमा बत्ती नहुँदा दियालो र टुकीको उज्यालो गरेर पढ्न बाध्य थिए । दियालाले गर्दा बालबालिका कहिले पोलिने,कहिले घर नै आगलागी हुने घटना घट्दै आएका थिए भने प्राय सामान्य बिरामी परिरहन्थे जसले गर्दा सोचे जस्तो पढाई हुन सकेको थिएन । अब बत्ती आएकोले बालबच्चाको पढाई,सरसफाइ र आनीबानीमा समेत सुधार आउनुका साथै देश विदेशका खबर टेलिभिजनमा हेर्न पाउने भयौ भन्दै खुशी व्यक्त गर्छन् सोही गाउँका चक्र छत्याल । उनी बत्ती आएपछि गाउँमा नौलो विकास भएको महसुस भएको बताउँछन् । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ४ करोड आर्थिक लागतमा गुल्म घाट जलविद्युत आयोजनाबाट ३८ किलोवाट बिद्युत् उत्पादन भएपछि पहिलो चरणमा जवलधारा गाउँको ९७ गहताडी गाउँका २२ घरधुरी लाभान्वित भएका छन् । कर्णाली प्रदेशका पूर्व कृषि मन्त्री चन्द्रबहादुर शाहीको सक्रियतामा गाउँमा बत्ती बलेको गुल्म घाट जलविद्युत आयोजना निर्माण समितिका अध्यक्ष कमान सिंह मल्लले सुनाए ।

बत्तीले गाउँ झिलिमिली भएपछि गहताडी र जवलधारा गाउँका महिला पुरुष युवाहरूलाई मोबाइल चार्ज गर्न रेडियो बजाउन र राति विद्यार्थीलाई पढ्न सहज भएको छ । बत्तीले घरमा उज्यालो भएपछि बालबालिका खुशी हुँदै राती अबेर सम्म पढ्न थालेको शिक्षक हिरालाल शाहीले बताए । कोठा बत्ती आउँदा बित्तिकै विद्यार्थी कापी कलम समातेर पढ्न सुरु गर्छन् पहिले स्कुल बाहेक घरमा पढ्ने बानी प्राय विद्यार्थीहरूमा थिएन शिक्षक शाहीले भने । 
गुल्मा जिउला देखि ५ किलोमिटर टाढा हुम्ला कर्णाली नदी मुगु किनारबाट नहर बनाई सोही नगरबाट पानी ल्याएर जलविद्युत उत्पादन गरिएको गुल्म घाट जल बिद्युत् आयोजना निर्माण समितिले जानकारी दिएको छ । 

उक्त बिद्युत् निर्माणको लागि वैकल्पिक ऊर्जाले सहयोग गरेको करिब ४ करोड बजेटमा बिद्युत्को पोल, वाइरिङतार, मेसिन, पाइप खरिद तथा ढुवानीमा खर्च भएको र पावर हाउस स्थानीयले श्रमदान बाट निर्माण गरेको जलविद्युत आयोजना निर्माण समितिका सचिव लोकबहादुर मल्लले जानकारी गराए। 

गुल्म घाट जलबिद्युतआयोजनाबाट उत्पादन गरिएको ३८ किलो वाटको बिद्युत् सीमित जवलधारा गाउँमा मात्र नभएर गहताडी गाउँका २२ घरधुरीमा पनि बत्ती बलेको स्थानीय ऐन बहादुर मल्लले बताए । 

उक्त जलविद्युत आयोजनाबाट नचारा गाउँका ५६ घरधुरी, जोगीबाडा गाउँका २७ घरधुरी, नार्थपु गाउँका ६४ घरधुरी, धुपीगाउँका १० घरधुरी र जडेपानी गाउँका ४२ घरधुरी मा पनि बिद्युत् पुर्‍याउने लक्ष्यका साथ गाउँमा पोल बिस्तार तार वाइरिङ गरि बत्ती बाल्ने काम अन्तिम चरण पुगेको वडा नं १ का वडा अध्यक्ष धनकर्ण मल्लले बताए । 

हुम्ला कर्णाली नदीबाट गुल्मा सिचाई नहरको प्रयोग गरेर ल्याइएको पानीबाट जलविद्युत उत्पादन सँगै करिब १२ हेक्टर खेती योग्य जमिनलाई सिचाइ गर्न समेत टेवा पुगेको छ । पानीको श्रोत नहुँदा धान गहुँ उत्पादनमा कठिनाइ देखिएको गुल्मा क्षेत्रमा नहरबाट पानी पुगेपछि सिचाइमा समेत सुविधा पुगेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ