arrow

सुक्दै बोटबिरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
Mahottari-hamrakura.jpg.jpeg

महोत्तरी । साउन दोस्रो साता बित्नै लाग्दासम्म राम्ररी पानी नपरेर धान रोपाइँ गर्न नपाएका यहाँका किसान यसपालि खडेरी पर्ने चिन्ताले पिरोलिएका छन् ।

धान रोपाइँ गर्न नपाइएको र अन्य बोटबिरुवा पानीबेगर सुक्दै गएपछि किसान यसपालि ठूलो खडेरी पर्ने चिन्ताले पिरोलिएका हुन् ।

“साउन आधा बित्नै लाग्यो, धान रोप्न पाइएन”, भङ्गाहा-५ भूचक्रपुरका ६५ वर्षीय किसान दीपनारायण चौधरी थारू भन्छन्, “सुत्ला आउँदै गरेका मकैका बोट सुक्दैछन्, वरपरका बोटबिरुवा पानीबेगर सुक्दै छन् ।”

मुख्य बाली मानिने धान रोप्न नपाइएको र अन्य बाली पनि सुक्दै गएपछि किसान रनभूल्ल छन् । साउन मध्य बित्नै लाग्दासम्म मौसमको लक्षण पानी पर्ने नदेखिएको पाका किसान बताउँछन् । 

“असार–साउनमा पानी नपरेर प्रचण्ड रापको  घाम र तातो हावा चलिरहेपछि केही-केही ठाउँमा धान रोपिएका खेत चिरा परेका छन्, लहरे तरकारी बालीका बेला सुकेर पहँलिदै गएका छन्”, गौशाला नगरपालिका-११ का लक्ष्मीप्रसाद महतोले भने । अहिलेको मौसमले खडेरीको लक्षण देखिएकाले अब गुजाराको चिन्ताले पिरोलेको महतोको भनाइ छ ।

यसपालि खडेरीको लक्षण देखिन थालेपछि जिल्लाका सबैजसो बस्तीमा सर्वसाधारणलाई गुजाराको चिन्ताले पिरोलेको छ । 

“जिल्लामा प्रत्येक दुई-तीन किलोमिटरको दूरीमा नदी छन्”, भङ्गाहा-४ पलार बस्तीका किसान चौठी बाँतरले भने, “तर यी नदी बर्खेभेलले बस्ती र खेतबारी बगाउने अभिशापमात्र बनेका छन् ।” नदीको पानीले जताततै सिँचाइ प्रबन्ध नभएपछि यी अभिशाप बनेका बाँतरको भनाइ छ ।

मुख्यबाली धान नै बनाएका जिल्लाका किसान राम्रो मौसमको पर्खाइमा छन् । अनुकूल मौसम भए सन्तुलित पानी पर्ने, बालीनाली लगाउन सजिलो हुने र उत्पादन पनि राम्रो हुने कल्पना पनि यहाँका किसानले गर्न छाडेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ