arrow

बीआरआई परियोजना कार्यान्वयन गर्न आएको चिनियाँ टोली भेटघाटमै, आज कांग्रेससँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
chinese-team-2080-04-07.jpg

काठमाडौँ । नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल छलफल र भेटघाटमै व्यस्त रहेको छ । आइतबार आएको टोलीले आज सत्ताधारी पार्टी नेपाली कांग्रेससँग छलफल गर्नेछ । 

पार्टी कार्यालयका अनुसार आज दिउँसो २ बजे चिनियाँ टोली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटघाट गर्ने कार्यक्रम राखिएको छ । त्यस्तै अन्य दलका नेताहरुसँग पनि छलफल गर्ने क्रम चलिरहेको बताइएको छ । 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नभए पनि नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डललाई नेकपा माओवादी केन्द्रले होटल द्वारिकाजमा रात्री भोज दिएको छ । 

माओवादी केन्द्रको निम्तोमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्यसमेत रहेका नेता युआन च्या च्युन आइतबार २५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाडौँ आएपछि माओवादीले रात्रीभोज दिएको हो । 

माओवादी केन्द्रका महासचिव देव गुरुङले औपचारिक निम्तो दिएका थिए । च्या च्युन नेतृत्वको टोली  ५ चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुसहित काठमाडौं आएका हुन् ।

नेपाल भ्रमणमा आएका युआन सीपीसीका २४ जना केन्द्रिय पोलिटब्यूरो सदस्यमध्ये एक हुन् । ७ जनाको स्थायी कमिटीपछि दोस्रो तहको शक्तिशाली तहको रुपमा केन्द्रीय पोलिटब्यूरो सदस्यलाई माओवादीले रात्रीभोज दिएर सत्कार गरेको हो । 

सीपीसीको सन् २०२२ मा भएको २० औँ जनकंग्रेसले उनलाई उक्त जिम्मेवारी दिएको थियो । उनी यसअघि सीपीसीका केन्द्रीय सदस्यमात्र थिए । उनी राष्ट्रपति सी चिनफिङका विश्वाससिला पात्र हुन् । 

काठमाडौँ उत्रिँदा उनलाई माओवादी केन्द्रका महासचिव देव गुरुङ आफैँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका थिए । काठमाडौँ उत्रेलगत्तै च्या च्युन नेतृत्वको टोली काठमाडौँको बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा पुगेको थियो । 

होटलमा केहीबेर आराम गरेर टोलीले राजनीतिक सम्वाद शुरु गरेको थियो । च्या च्युन नेतृत्वको टोलीले दिउँसो राष्ट्रपति निवास शित्तल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्वाद गरेको थियो । 

त्यसपछि इटालीको भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले च्या च्युनसँग इटालीबाटै अपरान्ह ४ बजे भर्चुअल संवाद गरेका थिए । त्यसपछि नेपालका केही कम्युनिष्ट पार्टीका अधिकारीहरुसँग गोप्य भेट गरेको थियो । उनीहरुको नाम भने बाहिर सार्वजनिक भएको छैन । 

सो भेटपछि रात्री भोज शुरु भएको थियो । रात्रीभोजमा माओवादीका कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपाध्यक्षद्धय कृष्णबहादुर महरा र अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन (अनन्त), जनार्दन शर्मा, सचिवहरु हितमान शाक्य, केन्द्रीय कार्यालयका सचिवसमेत रहेका कोषाध्यक्ष श्रीराम ढकाल प्रशान्त लगायतका पदाधिकारीहरु सहभागी भएका थिए । 

युआनको भ्रमणमा सीपीसी र नेपालका पार्टीहरूबीचको सम्बन्धका साथै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयन र चीनले अघि सारेका अन्य इनिसिएटिभका बारेमा पनि छलफल हुनेछ । 

चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा अघि सारेको बीआरआई (पहिले वन बेल्ट वन रोड) अन्तर्गतका कार्यक्रमलाई प्राथमिकता दिए पनि नेपालमा प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । 

बेइजिङबाट यसअघि असार २७–३० मा सीपीसीको विदेश विभागको टोलीले नेपाल भ्रमण गरेको थियो । भ्रमणका क्रममा सीपीसी विदेश विभागका काउन्सिलर तु स्याउलिनले नेपाल र चीन मिलेर विकास गर्नुपर्ने बताएका थिए । 

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा छोङछिङ शहरका पार्टी प्रमुख एवम् सचिव युआन च्या च्युन आउन अघि शनिबार पाँच जना सरकारी अधिकारीहरु काठमाडौँ आइपुगेका थिए । । उनीहरु एअर चाइनाको उडानबाट काठमाडौँँ आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ