arrow

बुटवल सुन प्रकरणः एक महिनासम्म पनि पक्राउ परेनन् अभियुक्त

logo
नारायण वली,
प्रकाशित २०८० साउन ३ बुधबार
sunchadi-pasal-1.jpg

रुपन्देही । गत असार १० गते रुपन्देहीको कालीदह नाका हुँदै भारत लैजाँदै गर्दा कारको गियर बक्सभित्र लुकाई राखेको साढे दुई किलो सुन सशस्त्र प्रहरीले बरामद गर्यो । सुन सशस्त्र प्रहरीको हातमा परेपछि रुपन्देहीको सुनचाँदी व्यवसायमा एकखालको तरङ्ग पैदा भयो । 

ईट्टाजस्तै रङ र आकार भएको झण्डै दुई किलोको शङ्कास्पद वस्तु बरामद गरी थप अनुसन्धान गर्नका लागि सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा ल्याईएको र त्यहाँ जाँच गर्दा एक किलो ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएपछि एकाएक सो विषयले बजार तात्यो ।

बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले चेकजाँच गर्दा ईट्टा आकारका दुई थान सुन बरामद गरेको थियो । बरामद सुन र कार भैरहवा भन्सार कार्यालयमा बुझाएर थप अनुसन्धान अगाडि बढाए पनि परिणाम अझैसम्म प्रकाशमा आएको छैन ।

बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्रलाल सुनार सञ्चालक रहेको बताइएको छ । लक्ष्मीपती सुनचाँदी पसलको सञ्चालक इन्द्रकी श्रीमती भएको बताइएको छ ।

बालाजीका सञ्चालक हाल फरार छन् । दुई वटा पसल सिल गरेपछि बुटवलका सुन पसलहरुमा अहिले सुनको अभाव देखिएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार गाडी चालकलाई पक्राउ गरी अनुसन्धानको काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि यस विषयमा अनुसन्धान गरिरहेको भन्सार कार्यालयले जनाएको छ । 

सुनचाँदी व्यवसयी संघ बुटवलका अध्यक्ष गोकुल विकले यस विषयमा आफूलाई धेरै जानकारी नभएको बताए । उक्त सुन प्रकरणमा बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलका सञ्चालकको संलग्नता देखिएपछि पसललाई मात्रै सिल गरी अनुसन्धान गरिएको छ ।

सुन तस्करीमा प्रयोग गरिएको सवारीका चालकको बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति सुनचाँदी पसलको संलग्नता रहेको खुलेपछि दुवै पसलमा सिल गरेर अनुसन्धान अघि बढाए पनि अभियुक्त भने अझै पक्राउ परेका छैनन् । 

भन्सार कार्यालयले यस बारेमा सबै कुरा अहिलै भन्न नसकिने भन्दै सुन तस्करीमा प्रयोग भएको गाडीका चालक दाङ घोराही उपमहानगरपालिका–१० का हुमानन्द गिरीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ