नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदीबाट दुई अर्ब डलर सहयोग
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
1.6k
Shares
ईस्लामावाद। नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदी अरबले दुई अर्ब अमेरिकी डलर प्रदान गरेको छ ।
विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख भएको पाकिस्तानलाई मङ्गलबार साउदी अरबबाट दुई अर्ब डलरको निक्षेप प्राप्त भएको हो । देशको आर्थिक सङ्कटबाट जोगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग यसै महिना नयाँ सम्झौता अनुमोदन हुन लागेका बेला साउदीबाट प्राप्त सहयोगले इस्लामाबादलाई ठुलो राहत मिलेको छ ।
अर्थतन्त्र भुक्तान सन्तुलनको सङ्कटबाट ग्रस्त छ भने बाह्य ऋण सेवा प्राप्तिको प्रयास पनि असफल भएको छ । महिनौँको राजनीतिक अराजकताले विदेशी लगानीलाई निरुत्साहित भएको छ । मुद्रास्फीति ह्वात्तै बढेको छ । पाकिस्तानी रुपैयाँ डलरको तुलनामा कीर्तिमानी न्यून विन्दुमा पुगेको छ । देशलाई आयात धान्न धौ धौ परिरहेको छ भने औद्योगिक उत्पादनमा गम्भीर गिरावट आएको छ ।
“साउदी अरबले पछिल्लो समय स्टेट बैङ्क अफ पाकिस्तानको खातामा थप दुई अर्ब डलर जम्मा गर्ने घोषणाअनुरूप बैङ्कको खातामा उक्त रकम जम्मा भएको छ,” पाकिस्तानका अर्थमन्त्री इशाक दारले पत्रकार सम्मेलनमा भन्नुभयो ।
स्ट्यान्डर्ड क्यापिटल सेक्युरिटीजका अनुसन्धान विश्लेषक फैसल शाजी पछिल्लो निक्षेपले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिलाई स्थिर बनाउने र अन्तर्राष्ट्रिय बजारमा यसको ‘क्रेडिट रेटिङ’मा सुधार बताउँछन् । आईएमएफको सहायता कार्यक्रमका निमित्त यो ठुलो र सकारात्मक विकास भएको तर्क गर्दै उनले यसबाट पाकिस्तानको मुद्रा बलियो हुने र त्यसले शेयर बजारमा राम्रो प्रभाव दाबी गरेका छन् ।