arrow

आफन्त र एमाले नेतासहितले छोरी बेपत्ता पारेको भन्दै खोजिदिन कुर्मी दम्पतीको आग्रह 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० असार २१ बिहिबार
kurmi-couple-nepaljung-2080-03-21.jpg

नेपालगञ्ज । बाँके होलियाका नारायण कुर्मी दम्पतीले आफ्नी १९ वर्षीया छोरी रेश्मालाई आफन्त र गाउँका अगुवाले मिलेर बेपत्ता बनाएको आरोप लगाएका छन् ।

नारायणकी श्रीमती सिपुरीले गत बैशाख २ गतेदेखि छोरीलाई बेपत्ता बनाएको बताए । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गर्दै नारायण दम्पतीले आफ्नो छोरी ल्याइदिन आग्रह गरेका छन् । आमा सिपुरीका अनुसार छोरी रेश्माको नेपालगन्ज(१३ गंगापुरमा विवाह भएको थियो । 

श्रीमानको मृत्यु भएपछि रेश्मा माइती घरमा आएर बसेकी थिइन् । माइतीमा बसेकी छोरीलाई आफन्त पर्ने केतिया, आरती, पवन र दिनेश कुर्मीले फकाएर भारतमा लगेर विवाह गरिदिएको सिपुरीले बताइन् ।

नारायण दम्पतीका अनुसार रेश्मालाई भारत बहराइच जिल्ला अजकवा गाउँका इन्द्रजित कुर्मीको छोरासँग विवाह गरिदिएका छन् । तर छोरी ज्वाईसँग भेट्न नपाएको उनीहरुको भनाइ छ । आमा सिपुरीले भनिन्,  ‘छोरीको विवाह गरिदिएको भन्ने सुनेको छु । विवाह गरिदिएका हुन् कि बेचिदिएका हुन्, थाहा छैन । मेरो छोरी मलाई चाहियो ।’

रेश्मालाई इन्द्रजितका छोरासँग विवाह गर्नका लागि एमाले नेता एवम् लुम्बिनी प्रदेशका पूर्व मन्त्री विजय यादवले पनि सहयोग गरेको नारायण दम्पतीको आरोप छ । रेश्माको विवाह खर्च भनेर दिनेशमार्फत आएको ६० हजार भारतीय रुपैयाँ विजयले बुझेको उनीहरुले बताए ।

नारायण दम्पती छोरी फिर्ताका लागि कानूनी प्रक्रियामा जाने तयारीमा छन् । कानूनी प्रक्रियामा जान खोज्दा यादवले रोक्दै आएको उनीहरुको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ