arrow

चीनबाट फर्केपछि नारायणकाजीले भने –बीआरआई कार्यान्वयन प्रक्रियामा जानुपर्छ [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
narayankaji-shrestha-2080-03-17.jpg

काठमाडौँ । पाँच दिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन् । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ पाँच दिने चीन भ्रमण सकेर आइतबार स्वदेश फकिएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै चीन भ्रमण फलदायी भएको बताए । 

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री हलि फङबीच भएको द्विपक्षीय भेटवार्तामा दुई देश बीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको छ ।

उनले  चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सकारात्मक रहेको बताए ।

उनले चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको बताए । उनले व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमासमेत सकारात्मक छलफल भएको बताए । 

चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको उनले बताए । उनले नेपाल सरकारले बीआरआईमा २०७० सालमा नै सम्झौता गरेकाले कार्यान्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुङ्गो लगाउने बताए । 

उनले नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभांवित हुने विश्वास लिएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको बताए । 

उनले सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु–काठमाडौँ रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान शुरू गर्न आग्रह गरेको बताए । 

उनले भैरहवा भन्दा पनि सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार रहेको देखिएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिंचाई प्रणालीको अवलोकन गरेको बताए । 

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधवार चीन भ्रमणमा गएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ