arrow

उपेन्द्रले भने- जसपा नभइदिएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको पहलमा नागरिकता समस्या सामाधान भएको दाबी गरेका छन् । काठमाडौंमा आइतबारदेखि सुरु भएको पार्टीको विधान अधिवेशन उद्घाटन गर्दै उनले जसपाकै कारण देशमा सङ्घीयता आएको जिकीर पनि गरे ।

उनले भने, “अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएन । नेपालमा सङ्घीयता कहिल्यै आउने थिएन । जसपा नभइदिएको भए धर्मनिरपेक्षता, समावेशिताजस्ता कुरा कल्पनाका कुरा मात्रै हुने थिए ।”

अध्यक्ष यादवले सरकार र गठबन्धन निरन्तर अघि बढ्नुपर्ने धारणासमेत राखे । उनले अहिलेको सरकार निरन्तर कायम रहनुपर्ने धारणा राखे । उनले थप भने, “अहिले हामी सरकारमा छौँ । हामी चाहन्छौँ यो सरकार निरन्तर आफ्नो समयसम्म रहोस् र यो गठबन्धन अगाडि बढोस् ।” 

सोही पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षामन्त्री अशोककुमार राईले पार्टी एकतापछिका आठ वर्षसम्म एकताकै प्रक्रिया निरन्तर चलेको बताए । उनले एकतापछि बल्ल अहिले आएर पार्टीको यौगिकताको चरण पूरा हुने अवस्थामा पुगेको बताए । 

जसपा नेपालको विधान अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ । पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय ६ जना सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनीत हुने १० जनासहित सात सय ६१ जना प्रतिनिधिहरु सहभागी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ